घटना-१
हेर्दा ब्रान्डेड बोतल। अन्तःशुल्कको टिकट, लेबलिङ र प्याकेजिङ पनि दुरुस्तै। जो कोहीले हेर्दा सक्कली वा नक्कली छुट्याउन नसक्ने। बाहिरबाट हेर्दा सक्कली तर भित्र नक्कली मदिरा। यो घटना १४ माघको हो। ललितपुर टीकाथलीमा डबल ब्ल्याकदेखि खुकुरी रमसम्म नक्कली उत्पादन गरी बिक्री वितरण गर्ने ३ जनालाई प्रहरी पक्राउ गर्यो।
ललितपुर कुपन्डोलस्थित ‘नेक्स्ट टेस्ट लिकर स्टोर’बाट विभिन्न ब्रान्डका केही रक्सी किन्दा नक्कली पाइएपछि प्रहरीकहाँ सूचना पुग्यो। लगत्तै उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीले सूचना फलो गर्दै ‘अपरेसन लिमा २’ सञ्चालन गरी अनुसन्धान शुरु गर्यो।
अनुसन्धान क्रममा नक्कली मदिरा बनाउने र जानाजान पसलमा राखी बेचविखन गर्ने दोलखाका निरज उप्रेती, स्याङ्जाका धर्मी गौडेल, सिन्धुलीका गणेशबहादुर राना मगरलाई पक्राउ गर्न सफल भयो।
अनुसन्धान टोलीले नक्कली मदिराहरू र तिनमा प्रयोग गर्ने रासयन, विभिन्न स्वदेशी तथा विदेशी ब्रान्डका रक्सीहरूको खाली बोतल, राजस्व अन्तःशुल्क प्रयोग गरिएका स्टिकर तथा लेबलिङ एवं प्याकेजिङ गर्ने मेसिनलगायत सामग्री बरामद गर्यो।
उनीहरूको गिरोहले एकपटक उत्पादन भएका नक्कली मदिरा बिक्री भएपछि मात्रै अन्य उत्पादन गर्ने गरेका थिए। साथै, कारखाना ठाउँ-ठाउँमा सार्ने गरेका थिए।
प्रहरीका अनुसार यस विषयमा थप अनुसन्धान भइरहेको छ। कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐनअन्तर्गतको कसूरमा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर ललितपुरमा उनीहरूलाई राखिएको छ। प्रहरीले अनुसन्धानपछि थप अनुसन्धानका लागि आन्तरिक राजस्व विभागमा पठाउनेछ।
घटना-२
यसअघि १० भदौमा पनि विभिन्न ब्रान्डका नाममा नक्कली मदिरा उत्पादन गर्ने दुई फ्याक्ट्रीमा जिल्ला प्रहरी परिसर काठमाडौंले छापा मारेको थियो। विभिन्न ब्रान्डका नक्कली रक्सीको बिक्री वितरण हुने गरेको सूचनाका आधारमा प्रहरीले कोटेश्वरस्थित हरि वलीको डेरा र भक्तपुर चाँगुनारायण-२ दुवाकोटमा सञ्चालित दुई फ्याक्ट्रीमा प्रहरीले छापा मारेको थियो।
नक्कली मदिरा बनाउने पाँचजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। उनीहरूको साथबाट प्रहरीले रक्सी बनाउन प्रयोग हुने कच्चा पदार्थसहितको बाल्टिन, जार, सोली, नक्कली अन्तःशुल्क स्टिकरलगायत बरामद गरेको थियो।
घटना-३
१५ पुसमा पनि प्रहरीले पर्सा वीरगञ्ज महानगरपालिका-१६ स्थित सडक खण्डबाट दुई जनालाई समात्यो। प्रहरीलाई आएको गोप्य सूचना पछ्याउँदै मधेश प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी, पर्साको टोलीले एम्बुस थापेको थियो।
वीरगञ्जका २७ वर्षीय मनिषकुमार साह तेली र २५ वर्षीय रञ्जनकुमार राम प्रहरी अनुसन्धानको घेरामा परेका थिए। उनीहरू भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै थिए। उनीहरूलाई रोकेर चेक गर्दा मनिषले लगाएको ज्याकेटको दाहिनेतर्फको भित्री खल्तीमा ‘आन्तरिक राजस्व विभाग लिकर २५ अप ३७५ एमएल’ लेखिएका ३९ थान स्टिकर भएको फोटो पाना-१ फेला पार्यो। प्रहरीले स्टिकरको अनुसन्धान थाल्यो। उनीहरूले बोकेर ल्याएको आन्तरिक राजस्व विभागको स्टिकर नक्कली निस्कियो। अहिले उनीहरूमाथि थप अनुसन्धान जारी छ।
घटना-४
५ भदौ ०७८ मा रुपन्देहीको बेलहिया नाकाबाट अवैध रूपमा भित्र्याइएको नक्कली स्टिकरसहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लियो। सिद्धार्थनगर नगरपालिका-३ का सहिद अन्सारी र सोही स्थानका अमानत अलीको घरमा छापा मार्दा ५० यूपीको १८० एमएलको मदिरामा लगाइने २ लाख ४० थान नक्कली स्टिकर बरामद गर्यो।
यी केही उदाहरण मात्र हुन्। यस्तो तस्करीको फेहरिस्त नै छ, आन्तरिक राजस्व विभागअन्तर्गतका कार्यालयहरूसँग। पछिल्लो समय अन्तःशुल्क छलीका घटना बढ्दो क्रममा छन्। आन्तरिक राजस्व विभागका अनुसार चालु आर्थिक वर्ष ०७९-८० को १५ माघसम्ममा १८ लाख रुपैयाँबराबरको अवैध मदिरा, नक्कली अन्तःशुल्क टिकट प्रयोग गरी राजस्व छली गरेको पाइएको छ।
अनुगमनमा देशका विभिन्न स्थानका मदिरा पसलले अन्तःशुल्क नतिरेको मदिरा बेच्ने गरेको पाइएको विभागका उपमहानिर्देशक एवं अन्तःशुल्क तथा अनुसन्धान महाशाखा प्रमुख टंकप्रसाद पाण्डेय बताउँछन्।
ती मदिरा कुनैमा अन्तःशुल्क स्टिकर नै छैन भने कुनैमा नक्कली स्टिकर टाँसिएको छ। विभागले मदिरासँगै नक्कली अन्तःशुल्क प्रयोग गरिएका सुर्तीजन्य पदार्थ पनि बरामद गरेको छ।
अन्तःशुल्कको स्टिकर आन्तरिक राजस्व विभागले प्रयोग गर्छ। उत्पादित सामग्री विभागका कर्मचारीको निगरानीमा टाँस्ने गरिन्छ। नेपालमा केही समयदेखि स्टिकर जनक शिक्षा सामग्री केन्द्रले छापिरहेको छ।
सुर्ती र मदिराजन्य वस्तुमा मात्र अन्तःशुल्क स्टिकर टाँसिन्छ। स्टिकर टाँसेबापत सरकारले कर लिन्छ। यसलाई आयको मुख्य स्रोतमा रूपमा हेरिन्छ।
उद्योग सञ्चालकले आफ्नो उद्योगलाई कति स्टिकर चाहिने हो विभागमा निवेदन दिएर त्यसबापतको कर तिरेपछि मात्रै स्टिकर पाउँछन्। त्यस्ता स्टिकरको मूल्य वस्तुअनुसार फरक-फरक हुन्छ। त्यही कर छली गर्न भारतबाट नेपालमा नक्कली स्टिकर तस्करी हुने गरेको छ।

कहाँबाट ल्याइन्छ नक्कली अन्तःशुल्क स्टिकर ?
पछिल्लो समय अन्तःशुल्कको नक्कली स्टिकर प्रयोग गरेर राजस्व छली गर्ने घटना बढ्दो छ। हालसम्मको अनुसन्धानमा भारतबाट नक्कली स्टिकर ल्याएको देखिन्छ। उनीहरूले भारतमा छापेर नेपाल ल्याउने गरेका छन्।
उपभोक्ताले उक्त स्टिकर नक्कली वा सक्कली भनेर पहिचान गर्न सक्दैनन्। टिकट सक्कली र नक्कली पहिचान गर्न छुट्टै मेसिन हुन्छ। स्टिकर झट्ट हेर्दा उस्तै लागे पनि मेसिनको सहायताले मात्र पहिचान गर्न सकिने महाशाखाका उपमहानिर्देशक पाण्डेय बताउँछन्।
‘मानिसले हेर्दा ‘अन्तःशुल्क स्टिकर’ नक्कली वा सक्कली पत्ता लगाउन सक्दैनन्,’ पाण्डेय भन्छन्, ‘हामीलाई नोट सक्कली वा नक्कली भनेर छुट्याउन गाह्रो पर्छ। यो स्टिकर पनि त्यस्तै हो। स्टिकरमा आँखाले छुट्याउन सक्ने २-४ वटा फिचर मात्र हुन्छ। अरू मेसिन उपकरणले मात्र हेर्न सकिन्छ।’
नक्कली स्टिकरहरू भारतबाट छापेर आयात गर्ने गरिएको उनको भनाइ छ। भारतमा छाप्नुको कारण स्टिकरको गुणस्तर राम्रो हुनु र आपराधिक धन्दाको गोपनीयता काम रहनु रहेको देखिन्छ।
‘नेपालमा स्टिकर छाप्न सम्भव छैन,’ पाण्डेय भन्छन्, ‘सबैभन्दा धेरै भारतबाट नै नक्कली स्टिकर आयात भएको देखिन्छ। अरू सामानसँग मिसाएर ल्याउने गरेका छन्। कतिपयले कलर फोटो कपि गरेर टाँस्ने गरेको पनि पाइन्छ।’
साथै, होटेल, रेस्टुराँसँग सम्पर्क गरेर अन्तःशुल्कको स्टिकर टाँसिएका बिर्कोहरू मगाउने गरिएको पनि अनुसन्धानबाट खुल्न आएको उनी बताउँछन्। ‘बिर्को खोल्दा नै होसियारी अपनाइने रहेछ, जसलाई पछि नयाँ जसरी प्रयोग गर्ने गरेको पाइयो,’ ती अधिकारी भन्छन्। प्रहरीको प्रारम्भिक अनुसन्धानमा कोक, सख्खरजस्ता वस्तुहरू पनि नक्कली रक्सी बनाउन प्रयोग गरेको पाइएको छ।
नक्कली स्टिकर भित्रिँदा घट्यो मदिरामा अन्तःशुल्क
चालू आर्थिक वर्षको ६ महिनामा कूल ५० अर्ब ५५ करोड २१ लाख रुपैयाँ राजस्व संकलन भएकोे छ, जसमा सुर्तीजन्य पदार्थबाट १४ अर्ब २४ करोड ८४ लाख रुपैयाँ संकलन हुँदा मदिराबाट ११ अर्ब ७३ करोड ९१ लाख रुपैयाँ कर असुली भएको छ। यस्तै, बियरबाट १५ अर्ब ३५ करोड २५ लाख रुपैयाँ संकलन हुँदा अन्य औद्योगिक उत्पादनबाट ९ अर्ब २१ करोड २० लाख रुपैयाँ कर उठाइएको छ।
गत वर्ष सोही अवधिमा विभागले ४७ अर्ब ६७ करोड ५७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो, जसमा सुर्तीजन्य पदार्थमा ११ अर्ब ९१ करोड ६० लाख संकलन हुँदा मदिरामा १३ अर्ब ८५ करोड ९७ लाख रुपैयाँ असुली भएको थियो। यस्तै, बियरमा १३ अर्ब ६६ करोड १० लाख र औद्योगिक उत्पादनमा ८ अर्ब २३ करोड ८८ लाख रुपैयाँ उठेको थियो।
समग्रमा तथ्यांक केलाउँदा यस वर्ष राजस्व बढेको देखिए पनि मदिरामा राजस्व संकलन घटेको छ। मदिरामा अन्तःशुल्क कम हुनुका कारण नक्कली स्टिकट भित्रिनु रहेको पाण्डेय बताउँछन्।
भन्छन्, ‘यस वर्ष अन्तःशुल्क अझ बढ्नुपर्ने हो। तर, घटेको देखिन्छ। बजारमा नक्कली स्टिकर छ्यापछ्याप्ती पाइन्छ। त्यसको प्रभाव राजस्वमा परेको हो।’
कति हुन्छ राज्यलाई हानी ?
सरकारसँग वार्षिक कति नक्कली स्टिकर भित्रिन्छ भन्ने यकिन तथ्यांक छैन। बेलाबेला बजार अनुगमन गर्दा बरामद गरिएको स्टिकरबाहेक अरू रेकर्ड नभएको उपमहानिर्देशक पाण्डेय बताउँछन्। नेपालमा नक्कली टिकट भारतबाट आयात हुन्छ। नेपाल-भारत सीमा खुला भएका कारण नक्कली स्टिकरको छली हुने गरेको उनी बताउँछन्। जसका कारण, राज्यलाई ठ्याक्कै यति नै हानी हुने यकिन तथ्यांक नहुने पाण्डेयको भनाइ छ।
यद्यपि, सरकारले अन्तःशुल्क लाग्ने वस्तुहरूमा तोकिएको दरलाई लिएर बाहिरिएको छलीको घटनालाई आधार मानेर केही अनुमान गर्न सकिने तर्क गर्छन्। ‘ठ्याक्कै यति नै घाटा भयो भनेर भन्न त सम्भव छैन,’ उनी भन्छन्, ‘एउटा मदिरामा प्रयोग गरिने स्टिकरमा १६ सयसम्म राजस्व ठगी हुन्छ। त्यसको भ्याट आयकर जोड्दा लगभग २ हजारभन्दा धेरै फरक पर्न जान्छ।’
विभागका अनुसार मदिरा, बियर तथा सुर्तीजन्य पदार्थअनुसार अन्तःशुल्क स्टिकरको मूल्य पनि फरक पर्न जान्छ, जसअनुसार ४२.८ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी मदिराको प्रतिलिटर १ हजार ३०६ रुपैयाँको अन्तःशुल्क स्टिकर प्रयोग गर्नुपर्छ। यसैगरी, क्रमशः ३९.९४ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी मदिरालाई प्रतिलिटर १ हजार २१५ रुपैयाँ र ४८.५ प्रतिशत अल्कोहल भएका र यसबाहेकका तयारी मदिरालाई प्रतिलिटर १ हजार ७५० रुपैयाँ लाग्छ।
३४.२३ प्रतिशत अल्कोहल भएकालाई प्रतिलिटर ६१०, २८.५३ प्रतिशत अल्कोहललाई प्रतिलिटर ४७२, १७.१२ प्रतिशत अल्कोहलको मात्रा भएकालाई प्रतिलिटर ४२ रुपैयाँ अन्तःशुल्कको व्यवस्था छ। यस्तै, अन्य मदिराको कच्चा पदार्थका रूपमा प्रयोग हुने मादक पदार्थ स्प्रिटसमेतलाई प्रतिलिटर २२८ रुपैयाँ अन्तःशुल्क लाग्छ।
यस्तै, चुरोटको प्रतिप्याकेट अन्तःशुल्क ३० रुपैयाँ लाग्छ। फिल्टर नभएको सुर्ती (लम्बाइमा) प्रतिएम (अटोमिटर्स) ७१० रुपैयाँ, ७० मिलिमिटरसम्म लम्बाइको प्रतिएम १ हजार ६३५, ७० भन्दा बढी ७५ मिमिसम्म लम्बाइको प्रतिएम २ हजार ८८०, ७५ भन्दा बढी ८५ मिमिसम्म लम्बाइको २ हजार ८८०, ८५ मिमिभन्दा बढी लम्बाइको प्रतिएम ३ हजार ९६५ रुपैयाँ अन्तःशुल्क तोकिएको छ।
यसैगरी, तमाखुमा प्रतिकिलो २ हजार, चुरोट तथा बिँडीका लागि प्रशोधित सुर्ती प्रतिकिलो ३४३ र पुनर्निर्मित सुर्ती, प्याकिङ सुर्ती, धुलो सुर्तीलगायतको प्रतिकिलो ४६० रुपैयाँ शुल्क राज्यलाई तिर्नुपर्छ। त्यसबाहेक जर्दा, खैनी, गुट्खा र निकोटिनयुक्त पान मसलाहरू र सुर्ती मिश्रित तयारी वस्तुको प्रतिकिलो ८२१ र हुक्का फ्लेभरका वस्तुको प्रतिकिलो १ हजार ४०० रुपैयाँ अन्तःशुल्क तिर्नुपर्छ।
कसरी रोक्ने अन्तःशुल्क छली?
नेपालमा खुला सिमाना भएका कारण अन्तःशुल्क छली रोक्न चुनौती रहेको सरकारी अधिकारीहरू बताउँछन्। ‘यो रोक्नलाई बोर्डर कन्ट्रोल गर्नुपर्छ। सीमा सुरक्षालाई बढी प्रभावकारी बनाउनु पर्छ,’ उपमहानिर्देशक पाण्डेय भन्छन्।
यस्तै, अन्तःशुल्कको स्टिकरलाई ‘डिजिटलाइज्ड’ गर्दा पनि राजस्व छली नियन्त्रण हुने उनी बताउँछन्। उनका अनुसार आयातित वस्तुमा होस् वा उद्योगबाट उत्पादन भएका वस्तुलाई अब डिजिटलबाट नियन्त्रण गर्न जरुरी छ। ‘अहिलेको म्यानुअल स्टिकरलाई डिजिटलमा परिणत गरेर नम्बर, कोड, साइनको प्रयोग गर्न सके राजस्व छली घट्न मद्दत पुग्छ,’ उनी भन्छन्, ‘यसो हुँदा व्यवसायीले गरेको उत्पादनमा राख्न कति स्टिकर लग्यो, कति प्रयोग गर्यो, कति बाँकी राख्यो भन्ने पारदर्शी हिसाब रहन्छ।’
साथै, बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने पनि उनी बताउँछन्।
के हुन्छ सजाय ?
कसुरअनुसार दण्ड सजाय पनि फरक-फरक हुन्छ। स्टिकरमा कति अन्तःशुल्क छली गरेको छ, त्यसको बिगो निकालिन्छ। बिगोका आधारमा २०० सय प्रतिशतसम्म जरिवाना हुन्छ। यस्तै, अन्तःशुल्क ऐनले व्यवस्था गरेअनुसार एक वर्षसम्म कैद सजाय पनि हुन सक्छ।