काठमाडौं- दुई तले घर। शान्त अनि एकान्त। लाग्छ, कुनै जंगलको एक भागमा छिरें। जहाँ स-साना फूलिरहेका फूलदेखि ठूल-ठूला रुख र ढुंगा कुँदिएका प्रस्तर मूर्तिहरू, चैत्यहरू छन्। चराको चिरविर आवाज, शीतल। घरको दैलौमा पारिलो घाम लाग्ने ठाउँका बाँसबाट बनाइएका कुर्सी र सोफाहरू। हेर्दा लाग्छ, घामपानी दुवैले धेरै सेकिसकेको छ। त्यहीँ वारपार ३-४ लाइनमा टाँगिएका थिए, बुद्धचित्त माला।
दाहिने हातमा खैरो रंगको चुरोट। देब्रे हातमा नीलो रंगको लाइटर। गुलाबी रंगको टिसर्टमा खैरो रंगकै पाइन्ट। भित्र-बाहिर गर्दा मन्त्र जपिरहन्थे। आँखामा कालो चस्मा। चट्ट दारी मिलेको। हँसिलो अनुहार। बोलीचालीमा नेपालीभन्दा अंग्रेजी भाषाको बढी प्रयोग। गला रुद्राक्षलगायत अन्य मालाले भरिएको। झट्ट हेर्दै आत्मिक ध्यानको लगाव प्रष्ट देखिने।
उनी हुन् रोमियो। अर्थात्, आत्मिक आर्टिस्ट रोमियो श्रेष्ठ।
उनी ५ वर्षको हुँदा घरमा आएर लामा गुरुले भनेका थिए रे, तिम्रो घरमा १७औं अवतारको जन्म भएको छ। त्यो अवतार थियो अरनिकोको। लामा गुरुका कुराले घरमा रुवावासी चल्यो। ललितपुर झम्सिखेलस्थित आफ्नो दुईतले घरको दैलोमा बाँसले बुनेका कुर्सीमाथि दुई खुट्टाका पैताला आपसमा साटिएर हल्लिँदै उनले आफ्नो बारेमा भनिरहेका थिए।
उनका हजुरबुवा मीरसुब्बा गोपालराजन श्रेष्ठ। नेपालकै अकाउन्टेन्ट। बुवा सीडीओ भए, अञ्चलाधीश पनि। प्रशस्त जग्गाजमिन र धनसम्पत्ति भएको परिवार। उनका बुवाले सरकारी सेवामा रहँदा कहिल्यै तलब भत्ता लिएनन्। निःशुल्क सेवा गरे देशको। अझ ६० जना बालबालिकालाई उनी पढाइरहेका थिए, परिवारलाई थाहै नदिई।
रोमियो घरको कान्छो छोरो। गोदावरीको सेन्ट जेभियर्स स्कुलबाट उनले एसएलसी उत्तीर्ण गरे। हिन्दू परिवारमा जन्मिएका रोमियोले बुद्ध धर्मप्रति आस्था राखे। उनको पढाइ भने क्रिस्चियन स्कुलमा भयो। पढाइमा उनलाई खासै चासो थिएन। एसएलसीपछि उनी अमृत साइन्स कलेज भर्ना भए। यो ०३६ सालको कुरा हो, जतिबेला देशमा राजनीतिक आन्दोलन चर्किएको थियो। सोही कारण कलेजमा नियमित पढाइ हुन मुश्किल थियो।
त्यसपछि उनी पढ्न दार्जिलिङ गए। त्यहाँ पनि राम्रोसँग पढ्न नसकेपछि पढाइकै लागि अमेरिकाको लस एन्जलस पुगे। तर, सोचेजस्तो पढ्न सकेनन्। सँगै पढेका साथीलाई सरले के बन्छस् भविष्यमा भनेर सोध्दा डाक्टर, इन्जिनियर बन्छु भन्थे। श्रेष्ठ भन्छन्, ‘म भने कृष्ण बन्न चाहन्छु भन्थें।’
उनी कृष्णजस्तै गोपिनीहरूको वरिपरि मायामा डुब्न, रमाउन, बस्न चाहन्थें। भावुक मुद्रामा श्रेष्ठ भन्छन्, ‘तर, अन्कन्डिसनल लभ त आमाको मात्रै रहेछ। अर्थात् निःस्वार्थ माया त आमाको मात्रै हुने रहेछ। जुनसुकै धर्म माने पनि ‘माई मदर माई रिलिजन।’
यी कुराहरू भनिरहँदा बेलाबेलामा देब्रेतिर कोल्टो पर्दै हातमा सल्किरहेको चुरोट तान्दै धुँवा उडाइरहेका थिए। कुराकानीकै क्रममा उनकी श्रीमती सोफी श्रेष्ठ टुसुक्क छेउकै कुर्सीमा बसेर हाम्रो कुरा सुनिरहेकी थिइन्। बेलाबेला रोमियोले अंग्रेजीमा कुरा गर्दा कुराको भाव बुझेझै हाँसिरहेकी थिइन् उनी।
उनी आयरल्यान्डवाट २२ दिन अगाडि नेपाल आएका हुन्। उनी नेपाल आउनुको पनि एक कारण छ। त्यो कारण हो, आफ्नो परिवार पाल्न देहव्यापार गर्नुपर्ने बाध्यतामा परेका महिलाको उद्धार। ‘हामीलाई जन्म दिने स्रोतलाई आदार सत्कार गर्न सकिरहेका छैनौं। स्त्री जातिलाई माया, आदर मात्रै दिए पनि संसार जितिन्छ, शान्ति स्थापना हुन्छ,’ उनी भन्छन्। आगामी दिनमा आफ्नो जिउ बेच्न नपरोस् भनेर नयाँ बाटो देखाइदिएको उनी बताउँछन्।
आयरल्यान्डबाट काठमाडौंमा अंग्रेजी पढाउन आएकी एक युवतीसँग रोमियोको ठमेलमा भेट हुन्छ। त्यसपछि उनीहरू साथी बन्दै घर आउजाउ गर्न थाल्छन्। विस्तारै उनीहरूको फ्रन्डसिप प्रेममा परिणत हुन्छ। रोमियो काठमाडौंका रैथाने नेवार। परिवारको नियम कडा। आफ्नो कुलभन्दा बाहिरको केटीसँग बिहे गर्यो भनेर घरबाट निकालिन्छन्। घरबाट निस्केर पनि उनीहरूले १० वर्ष नेपालमै दुःख गरे। देशको राजनीतिक द्वन्द्व झन् चर्किंदै थियो। दिनप्रतिदिन देश अस्तव्यस्त बन्दै थियो। यस्तै निरन्तर चल्ने हो भने बालबच्चाको भविष्य के होला भन्ने पीरले उनीहरूलाई सतायो। दुवै जनाको सल्लाहमा सन् २००१ मा उनीहरू नेपालको सबै त्यागेर आयरल्यान्ड हिँडे।

‘पहिलो आर्ट के बनाउनुभएको थियो याद छ?’
‘कार्टुन बनाएँ होला।’
‘अहिलेसम्म कतिवटा आर्ट बनाउनुभयो?’
हास्ँदै ‘एक थाल भातमा कतिवटा सिता हुन्छन्, त्यति नै बनाएँ होला। अनगिन्ती।’
झण्डै २० वर्ष अगाडि, सन् १९९५ तिर। न्युयोर्कमा दलाई लामाले तिब्बत हाउस बनाउने इच्छा गरे। त्यो समयमा उनले आफ्ना कला प्रदर्शन गर्ने मौका पाए। त्यतिबेला उनले तिब्बतको पुरानो शैलीको उपचार विधिबारेको पेन्टिङ बनाएका थिए। दलाई लामाले त्यसलाई खुबै मन पराए। अहिले न्युयोर्कको एक स्टेडियममा राखिएको छ, उनको त्यो कलाकृति।
आत्मिक आर्टमा उनको रुचि छ। भित्तामा टाँस्ने आर्ट र यो आर्ट फरक हुने उनी बताउँछन्। भन्छन्, ‘यो आर्ट आत्मा चिन्ने ज्ञान हो। आँखा अगाडि हामीले देखेको भौतिक संसारभन्दा अर्कै कहिल्यै नदेखेको नसुनेको संसार देख्न सकिन्छ। बायद मेरो कर्म नै यही होला।’
यति भन्दै तारजालीको ढोका खोलेर घरभित्र रहेको उनको सेलेस्टियल (दिव्य) ग्यालेरी लिन गए।
उनलाई लाग्छ, पहिलाको शताब्दीमा एउटा मात्रै बुद्ध थिए। तर, प्रत्येक मानिस बुद्ध हुन्, यत्ति हो कि आफूलाई चिन्न सक्नुपर्यो। जुन कुरा उनी आफ्नो आर्टमार्फत प्रकट गरेका छन्।
उनका कलाकृति व्याख्या गर्न जोकोहीको विद्वताले भ्याउँदैन। कला र संस्कृति मात्र होइन, जीवन जगतबारेको उनको गहिरो ज्ञान त्यसै पर्गेल्न सकिँदैन।
नेपालका छोरा उनी आयरल्यान्डको जुवाइँ हुन्। आयरल्यान्डमा उनले नेपाली कलालाई चिनाएका छन्। आयरल्यान्डमा ८० एक्कड जमिनमा उनले हरिण, चारवटा घोडालगायत अन्य स-साना जीवजन्तु पालेका छन्। उनी भन्छन्, ‘नेपालीले जहाँ पाइला टेक्छ, त्यहाँ नेपाल बन्छ।’ झम्सिखेलस्थित आफ्नो दुई रोपनी जग्गालाई आध्यात्मिक र प्राकृतिक रूप दिन लागिपरेका छन्, रोमियो। आशा गरौं, उनको यो योजना छिट्टै पूरा होस्, जहाँ बसेर मानिसले योग, ध्यान र सिद्धी प्राप्त गरून्।