काठमाडौं- नेपालमा संघीयता कार्यान्वयनसँगै दुई वटा प्रादेशिक निर्वाचन सम्पन्न भइसकेको छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली गरी मिश्रित निर्वाचन प्रणाली आपनाइए पनि संसदमा महिला सहभागिता अपेक्षाकृत रुपमा हुन सकेको छैन।
यसै सन्दर्भमा संविधान जारी भएपछि भएको पहिलो प्रदेश संसदमा महिलाको उपस्थिति कस्तो थियो र दोस्रो प्रादेशिक निर्वाचनपछि सातै प्रदेशसभामा महिलाको प्रतिनिधित्व कस्तो रह्यो भनी हामीले तुलनात्मक अध्ययन गरेका छौँ। यसका लागि हामीले निर्वाचन आयोगले प्रकाशित गरेको प्रदेशसभा सदस्य निर्वाचन,२०७४, निर्वाचन परिणाम पुस्तक र यसअघि हामीले प्रदेशसभा निर्वाचन २०७९ बाट सातै प्रदेशमा महिलाको उपस्थिति सम्बन्धमा तयार पारेको सामग्रीलाई आधार बनाएका छौँ।
प्रदेश १
प्रदेश १ मा ५६ प्रत्यक्ष निर्वाचित र ३७ समानुपातिक गरी ९३ सदस्यीय प्रदेशसभा छ। २०७४ सालको निर्वाचनमा यो प्रदेशसभामा २ जना महिला प्रत्यक्ष निर्वाचित भएका थिए भने ३० जना महिला समानुपातिक प्रणालीबाट निर्वाचित भएका थिए। यो संख्या जम्मा प्रदेशसभा सदस्य संख्याको ३४.४१ प्रतिशत हो। यसपालिको निर्वाचनमा भने प्रदेश १ प्रदेशसभामा २ जना प्रत्यक्ष निर्वाचित तथा ३१ जना समानुपातिकबाट गरी जम्मा ३३ जना अर्थात् ३५.४८ प्रतिशत महिलाको प्रतिनिधित्व भएको छ।
मधेश प्रदेश
६४ जना प्रत्यक्ष निर्वाचित र ४३ जना समानुपातिकबाट गरी जम्मा १०७ सदस्यीय मधेश प्रदेशसभामा २०७४ सालमा जम्मा पाँच जना महिला प्रत्यक्ष निर्वाचित भएका थिए भने ३२ जना महिलाले समानुपातिक प्रतिनिधित्व गरेका थिए। त्यतिबेला ३४.५८ प्रतिशत महिला प्रतिनिधित्व भएको यस प्रदेशमा यसपटक भने ३९ जना अर्थात् ३६.४५ प्रतिशत महिला प्रतिनिधित्व भएको छ। यस प्रदेशमा यसपालि प्रत्यक्षमा ४ महिला निर्वाचित भए भने समानुपातिकबाट ३५ जना निर्वाचित भएका छन्।
वागमती प्रदेश
वागमती प्रदेशमा प्रत्यक्ष निर्वाचित ६६ र समानुपातिकबाट निर्वाचित ४४ गरी जम्मा ११० सदस्यीय प्रदेशसभा रहेको छ। २०७४ सालमा यहाँ पाँच महिला प्रत्यक्ष निर्वाचित भएका थिए भने ३२ जना समानुपातिकबाट निर्वाचित भएका थिए। यसपालिको निर्वाचनमा वागमती प्रदेशमा पाँच महिला प्रत्यक्ष निर्वाचित भए भने ३५ महिलाले समानुपातिक प्रणालीबाट प्रदेश सभामा प्रतिनिधित्व गरेका छन्। २०७४ सालमा जम्मा ३३.६४ प्रतिशत महिला प्रतिनिधित्व भएको यस प्रदेश सभामा यसपालि भने ३६.३६ प्रतिशत प्रतिनिधित्व भएको छ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा ३६ जना प्रत्यक्ष निर्वाचित तथा २४ जना समानुपातिक गरी जम्मा ६० सदस्यीय प्रदेशसभा रहेको छ। यहाँ अघिल्लो निर्वाचनमा पहिलो हुने निर्वाचित हुने अर्थात् प्रत्यक्ष निर्वाचित निर्वाचन प्रणालीबाट २ जना र समानुपातिक निर्वाचन प्रणालीबाट १८ जना गरी जम्मा २० जना महिला निर्वाचित भएका थिए। यसपालि पनि यस प्रदेशमा २ जना महिला प्रत्यक्ष निर्वाचित भए भने १९ जना समानुपातिक प्रणालीबाट निर्वाचित भए। प्रतिशतका हिसाबले २०७४ सालमा महिला प्रतिनिधित्व ३३.३३ प्रतिशत थियो भने यसपाली ३५ प्रतिशत पुगेको छ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ५२ र समानुपातिकको ३५ गरी जम्मा ८७ सदस्य रहने व्यवस्था छ। २०७४ सालमा ३२ जना अर्थात् ३६.७८ प्रतिशत महिला प्रतिनिधित्व रहेको यस प्रदेशसभामा यसपालि भने ३३ जना अर्थात् ३७.९३ प्रतिशत महिला प्रतिनिधित्व भएको छ। अघिल्लो निर्वाचनमा दुई जना प्रत्यक्ष निर्वाचित भएका यस प्रदेशमा यसपालि भने एक जना मात्र महिला निर्वाचित भइन्।
कर्णाली प्रदेश
प्रदेशसभा सदस्यका हिसाबले यो प्रदेश सबैभन्दा सानो प्रदेश हो। यहाँ २४ प्रत्यक्ष र १६ समानुपातिक गरी जम्मा ४० सदस्यीय प्रदेशसभा रहेको छ। २०७४ सालमा कुनै पनि महिला उम्मेदवारलाई विजयी गराउन नसकेको यस प्रदेशले यसपालि पनि महिलालाई प्रत्यक्ष निर्वाचित गर्न सकेन। २०७४ सालमा १३ जना अर्थात् ३२.५ प्रतिशत महिला प्रतिनिधित्व भएको यस प्रदेशमा यसपाली भने १५ जना अर्थात ३७.५ प्रतिशत महिला प्रतिनिधित्व भएको छ। संविधान जारी भएपछिका दुवै प्रादेशिक निर्वाचनमा यो प्रदेशमा एक जना पनि महिला प्रत्यक्ष निर्वाचित भएका छैनन्। यो प्रदेशमा यसपाली भने सभामुखमा महिला निर्वाचित भएकी छन्।
सुदूरपश्चिम प्रदेश
यो प्रदेश सभामा ३२ जना प्रत्यक्ष निर्वाचित र २१ जना समानुपातिकबाट गरी जम्मा ५३ सदस्यीय प्रदेशसभा छ। २०७४ सालमा एकजना महिला उम्मेदवारलाई प्रत्यक्ष निर्वाचित गरेको यस प्रदेशसभाले यसपालि भने कुनै पनि महिला उम्मेदवारलाई प्रत्यक्ष निर्वाचित गर्न सकेन। यस प्रदेशसभामा दुवै निर्वाचनमा १८ जना अर्थात् ३३.३६ प्रतिशत महिला प्रतिनिधित्व भएको छ। अन्य ६ वटै प्रदेशमा अघिल्लो निर्वाचनको तुलनामा महिला प्रतिनिधित्व प्रतिशत वृद्धि हुँदा यस प्रदेशमा भने बढेन।
समग्रमा, अघिल्लो निर्वाचनको तुलनामा प्रदेश सभामा यसपालिको निर्वाचनमा प्रत्यक्ष निर्वाचित महिलाको संख्या घटेको छ। २०७४ सालमा सबै प्रदेशमा गरेर जम्मा १७ जना महिला प्रत्यक्ष निर्वाचित भएका थिए। तर यसपालिको निर्वाचनमा जम्मा १४ जना महिला मात्रै प्रत्यक्ष निर्वाचित भए। समानुपातिक प्रतिनिधित्वका हिसाबले भने अघिल्लो निर्वाचनका तुलनामा सबै प्रदेशमा यसपटक महिलाको प्रतिनिधित्व बढेको छ। प्रतिशतका हिसाबले पनि अघिल्लो निर्वाचनको तुलनामा सुदूरपश्चिम बाहेक सबै प्रदेशमा यसपटक महिला प्रतिनिधित्व बढेको छ। २०७४ सालमा प्रदेशसभाको ५५० सिटमध्ये १८९ अर्थात् ३४.३६ प्रतिशत प्रतिनिधित्व भएको थियो भने यसपालि १९९ अर्थात् ३६.१८ प्रतिशत प्रतिनिधित्व भएको छ।
(यो सामग्री नेपालचेक डट ओआरजीले तयार पारेको हो)