कैलाली- सुदूरपश्चिम प्रदेशमै पहिलोपटक कैलाली अस्पतालले हाडजोर्नी तथा मेरुदण्डको शल्यक्रिया सेवा शुरु गरेको छ।
प्रदेशको अस्थायी राजधानी धनगढीमा अस्पतालले हाडजोर्नी तथा मेरुदण्डको शल्यक्रिया सेवा शुरु गरेको हो। यसअघि हाडजोर्नी तथा मेरुदण्डको शल्यक्रियाका लागि प्रदेशबाहिर जानुपर्ने बाध्यता थियो। अब प्रदेशमै सेवा उपलब्ध गराइएको अस्पताल सञ्चालक जनकराज जोशीले बताए।
उक्त अस्पतालको शुरुवात सानो मेडिकबाट गरिएको थियो। ०७१ सालदेखि छाला, मानसिक रोग, जनरल सर्जरी, अर्थोपेडिक, युरोलोजीलगायत सेवा विस्तार गरिएको थियो। र, अहिले हाडजोर्नी र मेरुदण्डको शल्यक्रियामार्फत सेवा थप विस्तार गरिएको छ।
पहिलो सातामै अस्पतालले दुईजनाको मेरुदण्डको सफल शल्यक्रिया गरेको छ। ‘अन्य सेवा पनि सञ्चालन गर्ने तयारीमा छौँ,’ जोशीले भने। हाडजोर्नी तथा मेरुदण्डसम्बन्धी सबै प्रकारका शल्यक्रिया गरिने अस्पतालका हाडजोर्नी तथा मेरुदण्ड रोग विशेषज्ञ डा. ज्ञानेन्द्र जोशीले बताए।
अस्पतालमा मेरुदण्डको सफल शल्यक्रिया भएका छत्रबहादुर बमका परिवारले अस्पतालमा राम्रो सेवा पाएको बताउँदै खुशी व्यक्त गरे। बाहिर जानुपर्दा धेरै खर्च लाग्ने र धनगढीमै सेवा पाउँदा खर्च र समयको बचत भएको उनीहरूले बताए।