काठमाडौं- सर्वोच्च अदालतले संसद् विघटनसम्बन्धी सबै रिट संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ।
मन्त्रिपरिषद्बाट निर्णय गराएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद् विघटन गर्न प्रधानमन्त्री केपी ओलीले सिफारिस गरेका थिए। राष्ट्रपतिले तत्काल संसद् विघटन गरेकी थिइन्।
उक्त निर्णय असंवैधानिक भएकाले बदर गर्न माग गर्दै सर्वोच्चमा १३ वटा रिट दर्ता भएका छन्। तीमध्ये १२ वटामा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले बुधबार संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो।
१२ वटै रिट शुक्रबार बस्ने संवैधानिक इजलासमा पठाइने भएको छ। संविधानको धारा ७६ मा उल्लेखित संसद् विघटनको व्यवस्था सम्बन्धमा गम्भीर व्याख्या आवश्यक भएको ठहर गर्दे सर्वोच्चले ती रिट निवेदन संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो।