कैलाली- टीकापुर घटनासम्बन्धी मुद्दामा उच्च अदालत दिपायलद्वारा जन्म कैद सजाय सुनाइएका थारूवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारूले आत्मसमर्पण नगर्ने बताएका छन्।
उच्च अदालतले २ पुसमा थारू र रेशम चौधरीसहित आठजनालाई जन्मकैद हुने फैसला सुनाएको थियो।
नेपाली हेडलाइनलाई प्राप्त भिडियोमा थरुहट नेता थारूले अदालतको फैसला दूराशययुक्त भएको दाबी गरेका छन्। र, कहिल्यै आत्मसमर्पण नगर्ने बताएका छन्।
आफू कतै नभागेको बताउँदै अदालतको फैसलाले आफूलाई गम्भीर बनाएको उनले बताएका छन्। अदालतको फैसला कसैको दबाबमा आएको दाबी पनि उनले गरेका छन्। फैसला मान्न तयार नरहेको पनि भिडियोमा बताएका छन्। अबको विद्रोह शान्तिपूर्ण रहने उनले बताएका छन्।
‘मुलुकी संहिता ज्यानसम्बन्धी महलको १ नम्बरको कसुरमा सो महलको १७ (३) बमोजिम सजाय हुने ठहयाई भएको सुरु अदालतको फैसला मिलेको नदेखिँदा निजको हकमा केही उल्टी भई निज प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम ज्यानसम्बन्धी महलको १ नम्बरको कसुरमा सोही महलको १३ (४) बमोजिम जन्मकैद हुने ठहर्छ,’ फैसलामा उल्लेख छ, ‘निजलाई सोही महलको १५ नम्बरबमोजिम ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैदसमेत हुने ठहर्छ।’
यसअघि २२ फागुन ०७५ मा जिल्ला अदालत कैलालीले थारूलाई तीन वर्ष जेल सजाय सुनाएको थियो। उनी तीन वर्ष जेल बसेर रिहा भएका थिए।