काठमाडौं- आप्रवासी कामदार महासन्धि पारित भए नेपाली महिला कामदारले राहत पाउने सरोकारवालाले बताएका छन्।
आप्रवासी कामदारको अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा उनीहरूले आप्रवासी महिला कामदारको हकहित संरक्षण गर्न महासन्धिले ठूलो सहयोग गर्ने बताए।
महिला कानुन र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले महासन्धि अनुमोदन भए सबै आप्रवासी कामदार र तिनका परिवारको अधिकार संरक्षणमा सहयोग पुग्ने बताए।
महासन्धिले कामदार उत्पत्तिको देश र रोजगारीका लागि जाने देशको दायित्वबारे उल्लेख गरेकाले अनुमोदनको आवश्यकता औँल्याए।
आप्रवासी महिला कामदार समूहकी अध्यक्ष विजया राई श्रेष्ठले नेपाली महिला कामदारमाथि समय–समयमा लाग्ने प्रतिबन्धले समस्या हुने गरेको बताइन्।
महासन्धिमा कुनै पनि राष्ट्र छोड्न पाउने र उत्पत्तिको राष्ट्रमा कुनै पनि समयमा प्रवेश गर्न र रहन पाउने अधिकारको संरक्षण गरिएको छ। यस्तै, कामदारको बाँच्न पाउने अधिकार, यातना, क्रुर, अमानवीय वा अपमानजनक व्यवहार वा सजाय विरुद्धको अधिकार र दासता विरुद्ध संरक्षणको अधिकार पनि संरक्षण गरिएको छ।
।