काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकामा टेम्पोररी प्रोटेक्टेक स्ट्याटस (टीपीएस) अन्तर्गतका नेपालीलाई नौ महिना बसोबासको अनुमति थपेको छ।
ट्रम्प प्रशासनले नेपालसहित ६ मुलुकका टीपीएस आप्रवासीलाई कानुनी बसोबासको अनुमति थपेको हो।
अमेरिकामा टीपीएस कार्यक्रम बन्द गर्ने वा नगर्ने भन्ने मुद्दा अदालतमा विचाराधीन छ। राष्ट्रपति ट्रम्प टीपीएस कार्यक्रम बन्द गर्ने पक्षमा छन्।
यो कार्यक्रमअन्तर्गत युद्ध वा प्राकृतिक विपत्तिको कारण संकटमा परेका मुलुकका नागरिकलाई अमेरिकामा बसोबासको अनुमति मिल्छ।
पछिल्लो निर्णयसँगै अमेरिकामा रहेका एल साल्भाडोर, हाइटी, होन्डुरस, निकारागुवा र सुडानका नागरिकलाई थप नौ महिना अमेरिकामा बस्ने अनुमति मिल्नेछ।
उनीहरूको अमेरिकामा रहने म्याद ४ जनवरीमा सकिँदै थियो। अब अक्टोबर २०२१ सम्म बस्न पाउने छन्।
टीपीएस कार्यक्रमअन्तर्गत अमेरिकामा करिब १५ हजार नेपाली छन्।