काठमाडौं- ट्विटरले लाइभ भिडियो स्ट्रिमिङ प्लेटफर्म पेरिस्कोप बन्द गर्दैछ। ट्विटरले पेरिस्कोपलाई पाँच वर्षअघि खरिद गरेको थियो।
‘मार्च २०२१ देखि छुट्टै मोबाइल एपको रूपमा पेरिस्कोपलाई बन्द गर्ने कठिन निर्णय गरेका छौँ,’ ट्विटरले भनेको छ।
लामो समयदेखि पेरिस्कोपको सुधार र मर्मत गर्न दिगो बन्न नसकिरहेको यथार्थ स्वीकार्दै पेरिस्कोपले पछिल्ला वर्षदेखि यसका प्रयोगकर्ता घटेको र यो एप सञ्चालनका लागि हुने खर्च बढिरहेको जनाएको छ।
पेरिस्कोपका लाइभ स्ट्रिमिङका धेरै फिचर ट्विटरमा थप गरिसकिएको र पेरिस्कोपमा यसअघि गरिएका लाइभ भिडियो ट्विटरमा सेयर गर्न सकिने सुविधा भविष्यमा पनि रहने बताइएको छ। यस्तै, आगामी मार्च अघिसम्म पेरिस्कोपमा रहेका डाटा आर्काइभहरू डाउनलोड गर्न सकिन्छ।
सन् २०१५ मा लन्च भएसँगै लाइभ इभेन्टहरू सेयर तथा फलो गर्ने प्लेटर्फमका रूपमा पेरिस्कोप निकै लोकप्रिय बनेको थियो।
यससँगै ट्विटरले बन्द गर्ने पेरिस्कोप दोस्रो एप हुनेछ। ट्विटरले यसअघि सन् २०१२ मा भिडियो एप भाइन खरिद गरी सन् २०१७ मा बन्द गरेको थियो।