वीरगञ्ज- वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्ष ०७७-७८ को पहिलो चार महिनामा मुख्य औद्योगिक कच्चा पदार्थहरूको आयात घटेको छ। बारा-पर्सा औद्योगिक कोरिडोरका निर्माण सामग्री र खाद्य प्रशोधन उद्योगले गत आव ०७६-७७ को पहिलो चौमासिकको तुलानामा यो समीक्षा अवधिमा कम कच्चा पदार्थ भित्र्याएका हुन्।
चालु आवको साउनदेखि कात्तिकसम्म वीरगञ्ज सुक्खा बन्दरगाहबाट भित्रिने फलाम करिब आधा परिमाणमा झरेको छ। सुक्खा बन्दरगाह फलाम आयात हुने मुख्य भन्सार हो।
गत आव ०७६-७७ को पहिलो चौमासिक अवधिमा सुक्खा बन्दरगाहबाट तीन लाख ५९ हजार मेट्रिकटन फलाम भित्रिएको थियो। चालु वर्षको समीक्षा अवधिमा यो परिमाण एक लाख ८५ हजार मेट्रिकटनमा सीमित भएको बन्दरगाह भन्सारका अधिकृत जगदीश पुर्वेले जानकारी दिए।
वीरगञ्ज आईसीपी भन्सारबाट पनि कच्चा पदार्थको आयात खस्किएको छ। अघिल्लो वर्षको पहिलो चौमासमा उद्योगीहरूले ४८ हजार चार सय ९५ मेट्रिकटन बिलेट ल्याएका थिए। यो वर्ष २८ प्रतिशतले घटेको भन्सार अधिकृत रमेश सुकमनीले जानकारी दिए। ‘यो अवधिमा ३४ हजार ६ सय ८२ मेट्रिकटन बिलेट आयात भएको छ,’ अधिकृत सुकमनीले भने।
खानी उत्खननमा आएको समस्याका कारण भारतमा मूल्य बढेपछि उत्पादकले बिलेट कम मगाउन थालेका छन्। डण्डीको मूल्य भने आकाशिएको छ। तीन महिनायता डण्डीको मूल्य १५ देखि २० रुपैयाँसम्म बढेको उद्यमीहरू बताउँछन्।
मूल्य बढेसँगै डण्डीको बजार घटेको उद्योगी राजेश क्यालले बताए। ‘कच्चा पदार्थको लागत नै बढी भएपछि डण्डीको मूल्य बढी परेको छ। र, माग पनि घटेको छ,’ क्यालले भने।
डण्डीको मूल्य बढेपछि डण्डीसँगै सिमेन्टको माग पनि खस्किएको इन्टरनेसनल सिमेन्टका सञ्चालक सन्दीप अग्रवालले बताए। माग घटेपछि सिमेन्टको मूल्य र उत्पादन दुवै घटेको अग्रवालको भनाइ छ। सिमेन्टको अहिले मूल्य प्रतिबोरा एक सय ८० देखि दुई सय ३० रुपैयाँसम्म घटेको उत्पादकहरू बताउँछन्।
केही समय अघिसम्म आयातित वस्तुको मुख्य सूचीमा पर्ने क्लिंकरको आयात स्वात्तै घटेको छ। क्लिंकर यो वर्ष बढी आयात हुने २० वस्तुको सूचीमा नपरेको आईसीपी भन्सारले बताएको छ।
आन्तरिक उत्पादन बढेर क्लिंकरको आयात घटेको बताइए पनि स्वदेशी उद्योगहरू क्षमताको आधाभन्दा पनि तल झरिसकेको उद्योगी बताउँछन्। प्रति मेट्रिकटन १० हजार रुपैयाँसम्म पुगेको क्लिंकरको भाउ अहिले ६ हजार पाँच सय रुपैयाँसम्म झरेको नारायणी सिमेन्ट उद्योगका महाप्रबन्धक उमेशचन्द्र ठाकुरले बताए।
खाद्य प्रशोधन उद्योगहरूको कच्चा पदार्थको आयात घटेको सरोकारका उद्योगीले बताएका छन्। खाने तेल उत्पादक ओसीबी फुडका सञ्चालक सुरेश रुंगटाका अनुसार भटमासको आयात घटेको छ। यो उद्योगले चार महिनायता भटमास पेल्ने प्लान्ट बन्द गरेर कच्चा तेल नै मगाएको रुंगटाले बताए।
तेस्रो मुलुकबाट भटमास भित्र्याएर तेल उत्पादन गर्नुभन्दा अर्ध प्रशोधित तेल सस्तो पर्ने उनको भनाइ छ। कच्चा पदार्थको लागत बढेकाले आयात प्रभावित भएको उद्यमीहरू बताउँछन्। दाना उद्योगको कच्चापदार्थ मकै र पिनाको आयात पनि कटौति गरिएको रुंगटाले बताए।
सरकारले आयात घटेको तथ्यांक देखाएर वैदेशिक व्यापार सुधारोन्मुख भएको दाबी गरिरहेको अवस्थामा आन्तरिक उत्पादन भने शिथिल देखिएको उद्यमीहरूले बताएका छन्। ‘स्वदेशी उत्पादनबाट आयात प्रतिस्थापन हुनुलाई सकारात्मक मानिन्छ। तर, अहिले उत्पादन र माग खुम्चिएर घटेको व्यापारलाई स्वस्थ सुधार मान्न सकिन्न,’ उद्यमी क्याल भन्छन्। कोरोना महामारीको असर र कच्चा पदार्थमा मूल्यवृद्धिले गर्दा यस्ता वस्तुको आयात घटेको उनले बताए।