कैलाली- बहुप्रतिक्षित क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गतका सडक निर्माण बिहीबारदेखि धनगढीमा शुरु भएको छ।
धनगढी उपहमानगरपालिका नगरप्रमुख नृपबहादुर वड र उपप्रमुख सुशीला मिश्र भट्टले चटकपुर-क्याम्पस गेट सडक शिलान्यास गर्दै परियोजना शुरुवात गरे।
धनगढीलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने कार्यक्रम हो, यो परियोजना। धनगढीका बाहिरी सडक विस्तार तथा कालोपत्रे भइसक्दा पनि क्षेत्रीय शहरी विकास परियोजनाअन्तर्गतका सडक विस्तार हुन सकेका थिएनन्।
एसियाली विकास बैंकको सहयोगमा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत धनगढी उपमहानगरपालिकामा ४२ किलोमिटर सडक विस्तारका लागि सन् २०१५ मै सम्झौता भएको थियो। तर, लामो समय काम अगाडि नबढ्दा नगरवासी सास्ती खेप्न बाध्य थिए। नगरप्रमुख वडले भने, ‘धनगढीवासीको सपनाको परियोजनामा काम शुरु भएको छ।’
सन् २०१५ मा परियोजनाका लागि एक अर्ब ३५ करोड रुपैयाँ छुट्याइएको थियो। बजेट अपुग हुने भएकाले सडक निर्माणको काम चरणवद्ध रूपमा हुने नगरप्रमुख वडले बताए।
पहिलो चरणमा साढे १० किलोमिटर सडक निर्माण शुरु भएको छ। दोस्रो चरणका सडकका टेन्डरको प्रक्रिया शुरु भएको छ। पहिलो चरणमा ६८ करोड पाँच लाख ९८ हजार रुपैयाँको ठेक्का कालिका कन्स्ट्रक्सनले पाएको छ।
पहिलो चरणमा गुल्म-चर्च रोड (दुई हजार सात मिटर), धनगढी मेन रोड, ट्राफिक चौराहा देखि कैलाली नाला (एक हजार तीन सय ८० मिटर), हुलाकी सडक-क्याम्पस रोड- जाखोरताल (सात सय मिटर), क्याम्पस रोड-चटकपुर (तीन हजार ६ सय ५० मिटर), धनगढी-खुटिया स्याउले रोड (आठ सय ७० मिटर), मालपोत रोड (चार सय ३० मिटर) र हसनपुर रोड (एक हजार एक सय ५० मिटर) सडक विस्तार र कालोपत्रे हुने छन्।