काठमाडौं- नायिका श्वेता खड्काले सोमबार विजयेन्द्रसिंह राउतसँग विवाह गर्दैछिन्। पहिलो विवाह बन्धनमा बाँधिएको एक महिनामै उनका पति नायक श्रीकृष्ण श्रेष्ठको भारतमा उपचारका क्रममा निधन भएको थियो। त्यसको ६ वर्षपछि खड्काले विवाह गरेकी हुन्।
परिवारसँग सरसल्लाहमा आफूले यो निर्णय लिएको उनको भनाइ छ। विवाहको पूर्वसन्ध्यामा उनले सामाजिक सञ्जालमार्फत आम दर्शकका लागि भावुक पत्र सार्वजनिक गरेकी छन्। प्रस्तुत छ, उनको पत्र जस्ताको तस्तै :
म जीवनको नवीन यात्रामा
जीवनका विभिन्न आरोह-अवरोह, उकाली-ओराली, सुख-दुःख अनि हाँसो-रोदनका पलहरूलाई आत्मसात गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आइपुगेकी छु। जिन्दगीको यो मोडसम्म आइपुग्दा मैले जे जस्ता पिर, व्यथा, दुःख अनि कष्टहरूसँग सामना गरेकी छु, त्यसभित्रको कहालीलाग्दो अनुभवहरूलाई शब्दमा बयान गर्न पनि असमर्थ छु।
‘अचानोको पीडा खुकुरीलाई थाहा हुन्न’ भनेझैं समयको दुष्चक्रले ममाथि प्रहार गरेको अनेकन प्रहार र त्यसबाट मैले भोगेको पीडाहरू केवल मलाई मात्र थाहा छ।
म देख्थें, मेरो अगाडि लम्पसार परेर सुतिरहेको जिन्दगीको लामो बाटो जसमा तिखा काँडा, ठूलाठूला पत्थर अनि आगोका ज्वालाहरू छरपस्ट भएर छरिएका छन्। मैले मेरो जीवनको बाटोमाथि छरपस्ट ती काँडाहरूलाई पन्छाउनुपर्नेछ, पत्थरहरूलाई फुटाउनुपर्नेछ अनि आगोको ज्वालाहरूलाई नाघ्नु पर्नेछ।
‘के म यसो गर्न सकुँला र ?’ आफैँसँग प्रश्न गर्थें। आफ्नै प्रश्नमा आफैँले उत्तर दिन्थें ‘कि हुती हारेर मर्नु पर्छ कि त हिम्मतका साथ अघि बढ्नुपर्छ।’ अतः मैले मृत्युलाई रोजिनँ, जीवनलाई नै रोजेँ। अनि, जिन्दगीका हरेक समस्याहरूसँग जुध्दै क्रमशः अगाडि बढ्दै गएँ।
‘एक्लै जीवन काट्न सकिन्छ’ भन्ने कठोर निर्णय लिएर विगत ६ वर्षदेखि एक्लै हिँडिरहेकी थिएँ म। मेरो यो एकल यात्राका बखतमा धेरैपटक लडेकी छु। ‘अब उठ्नै सक्दिनँ कि’ भन्ने कमजोर भावले थिचेको त्यो बेलामा आफ्नो हात समातेर उठाइदिने कुनै सहाराको आशा हुँदो रहेछ।
महिनैपिच्छे करिब सातादिनका लागि बिरामीको अवस्थामा पुग्ने मेरो शरीरले एक गिलास पानीसँगै औषधिको ट्याब्लेट मुखमा हालिदिने एउटा सहयोगको चाह हुँदो रहेछ। मनभित्र गाँठो परेर बसेका अव्यक्त बहहरूलाई बोकेर हिँड्नु भनेको हजार टनको पत्थरलाई टाउकोमाथि बोकेर हिँड्नुभन्दा पनि कठिन रहेछ।
तर, मैले मेरा बहहरू व्यक्त गर्ने कोसँग ? मैले साथीसंगतीहरूको भिडमा आँखा डुलाएर हेरें तर मेरो पीडालाई महसुस गर्न सक्ने कोही देखिनँ। आफन्तहरूको घेरामा खोजेँ तर माइतीमा शरण लिएर बसेको म एकल नारीले आफ्नो पीडा पोखेर माइतीलाई थप तनाव दिनु हुन्न भन्ने मनन गरें। अतः मेरो हरेक दुःखमा म एक्लै रोएँ, पीडाहरूमा आफैँ सम्हालिएँ अनि अनेकन समस्याहरूसँग एक्लै जुधिरहें।
‘मेरो एकल जीवनलाई नियालिरहेका मेरा धेरै हितैषीहरूले एउटा जीवनसाथी खोज्नका लागि नसुझाएका पनि होइनन् तर एकपटक पुछिएको सिउँदोमाथि पुनः सिन्दुर भर्न आँट गर्ने कुनै निःस्वार्थी हातहरू पाइन्छ र ? फुटेको चुरासँगै चकनाचुर भएको मेरो विगतलाई जोडेर एउटा सुन्दर आकार दिने स्वच्छ मनको धनी कोही भेटिन्छ र ? अनि, विगतमा मैले गुमाएको मेरो चोखो मायालाई पुनः फर्काएर मेरो जीवनमा खुशीको रङ भरिदिने कुनै दयालु मन पाइएला र ? लौ, भनेको जस्तो निःस्वार्थी, स्वच्छ र निष्कपटी व्यक्ति पनि पाइयो रे, अनि के यो पुरुष प्रधान समाजले मेरो दोस्रो जीवनलाई स्वीकार गर्ला र ?’ म मेरा हितैषीहरूलाई प्रश्न गर्थें।
आज, मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु। विगतको पीडालाई भुलाउने एउटा बहाना पाएकी छु। मेरो अतीतलाई सहर्ष स्वीकार गरी मसँगै सुख र दुःख बाँड्न तयार एउटा साथी पाएकी छु। म, जीवनको दुःखद् अध्यायलाई बन्द गरेर खुशीको अध्याय शुरु गर्ने निर्णयमा पुगेकी छु। त्यसो भन्दैमा मैले मेरो अतीतलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन।
अतीतका मिठा पलहरूलाई मनको कुनामा पोको पारी भविष्यलाई सजाउने नवीन यात्राको थालनी गर्ने यो निर्णय लिनु म एक्लैको लागि सहज र सम्भव छँदै थिएन। तर, मेरा परिवारका सदस्यहरूको निरन्तर प्रयास अनि साथीसंगतीहरू, अग्रज र दिग्गज व्यक्तित्वहरू लगायत मेरा शुभचिन्तकहरूले प्रदान गर्नु भएको हौसला, साहस र प्रोत्साहनले आज म यो निर्णय लिनमा सफल भएकी छु। यति हुँदाहुँदै पनि मनमा एउटा प्रश्न भने अवश्य छ ‘के यो पुरुष प्रधान समाजले मेरो यो निर्णयलाई स्वीकार गर्ला र ?’
मलाई थाहा छ ‘श्वेताको आँखामा आँशु मात्रै देखिनुपर्छ’ भन्ने सोच बोकेका दुई-चारजना व्यक्तिहरूलाई मेरो यो निर्णयले पोल्नेछ। श्रीमती स्वर्गीय भएको एक महिना नबित्दै नयाँ दुलही भित्र्याउन हतारिने तर घरकी बिधुवी बहिनीले पूरै जीवन एक्लै काट्नुपर्छ भन्ने सोचले ग्रस्त केही व्यक्तिलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ। तर, मप्रति सहानुभूति राख्ने, मलाई सदैव खुशी देख्न चाहने अनि सधैँ मेरो सफलताको कामना गर्ने लाखौं शुभचिन्तकको आशिर्वाद, सद्भाव र सुभेच्छाले मप्रति रिस र इर्श्याको सोच राख्ने दुई-चारजनाले स्वतः हार खानेछन्।
अतः कोरोनाको सन्त्रासबीच जुरेको खुशीको माहोलमा मैले मेरा धेरै मित्र, गन्यमान्य व्यक्तित्वहरू, सञ्चारकर्मीज्यूहरू लगायत मेरा आफन्तसमेतलाई सामेल गराउन असमर्थ हुनेछु।
महामारीको यो माहोलमा सीमित व्यक्तिहरूलाई साक्षी राखी जीवनको नयाँ यात्रा शुरु गर्दै गर्दा तपाईंहरू सम्पूर्णले मलाई आशिर्वाद दिनुहुनेछ भन्ने आशा र विश्वास लिएकी छु।
उही तपाईंकी छोरी-चेली
श्वेता खड्का