पाम आयलको निकासी अचानक रोकिएर नोक्सानी बेहोरेका उद्योगलाई भटमासको तेल निर्यातबाट राहत
वीरगञ्ज- भारतले प्रशोधित पाम आयलको आयातमा रोक लगाएपछि स्वदेशी तेल उत्पादकहरू भटमासको तेल निर्यातमा केन्द्रित भएका छन्। गत वैशाख अन्तिममा भारतले पाम आयलको आयातमा प्रतिबन्ध लगाएको थियो। त्यसयता यहाँका उद्योगले भटमासको प्रशोधित तेल निर्यात बढाएका छन्।
चालु आर्थिक वर्ष ०७७-७८ को पहिलो चौमासमा वीरगञ्ज नाकाबाट भटमासको तेल उल्लेख्य निकासी भएको छ। अघिल्लो आर्थिक वर्ष ०७६-७७ को समीक्षा अवधिको तुलनामा पाँच गुणा बढी मूल्यको तेल निर्यात भएको वीरगञ्ज भन्सारले जनाएको छ।
चालु आवको साउनदेखि कात्तिकसम्ममा ६ अर्ब ८३ करोड रुपैयाँबराबरको ४८ हजार दुई सय ८१ मेट्रिकटन सोयाबिन तेल भारत निकासी भएको छ। अघिल्लो आव ०७६-७७ को शुरुको चार महिनामा एक अर्ब ३३ करोड रुपैयाँको १० हजार पाँच सय १९ मेट्रिकटन निर्यात भएको वीरगञ्ज भन्सारका अधिकृत रमेश सुकमनीले जानकारी दिए।
वीरगञ्ज प्रशोधित तेल निकासी हुने मुख्य नाका हो। गत आवमा नेपालबाट १८ अर्ब ३१ करोड रुपैयाँको पाम आयल निर्यात भएकोमा वीरगञ्जबाट मात्रै ११ अर्ब ७२ करोड रुपैयाँबराबरको एक लाख सात हजार मेट्रिकटन निकासी भएको थियो।
नेपालका करिब दुई दर्जन उद्योगमध्ये वीरगञ्ज क्षेत्रका १४ उद्योगले भारततर्फ प्रशोधित तेल निकासी गर्ने ओसीबी फुडका सञ्चालक सुरेश रुंगटाले जानकारी दिए। ‘पाम आयलको निर्यात अवरुद्ध भएपछि अधिकांश उद्योग भटमासको तेलमा केन्द्रित भएका छन्। अचानक पाम आयलको निकासी रोकिएर नोक्सानी खाएका उद्योगलाई यसले केही सहज भएको छ,’ रुंगटाले भने।
अघिल्लो वर्षसम्म निकासीको शीर्षस्थानमा रहेको पाम आयलको स्थान अहिले सोयाबिन तेलले लिएको छ। स्वदेशी उत्पादकले तेस्रो मुलुकबाट ल्याइएको अर्ध प्रशोधित तेललाई प्रशोधन गरेर निकासी गर्दै आएका छन्। उनीहरूले अर्ध प्रशोधित तेलमा ३० प्रतिशत मूल्यअभिवृद्धि गरेर शून्य भन्सार सहुलियतमा भारत निकासी गर्छन्।
नेपाली उद्यमीले १० प्रतिशत भन्सार महशुल तिरेर भित्र्याएको कच्चा पदार्थ प्रशोधन गरेर निकासी गर्छन्। उत्पादकले अर्जेन्टिना, ब्राजिल, युक्रेन, इन्डोनेसियालगायत देशबाट भटमासको अर्ध प्रशोधित तेल ल्याउँछन्।
भारतले आफ्ना तेल उत्पादक र किसानको संरक्षणका लागि यस्ता उत्पादनमा उच्चदरको आयात शुल्क लगाएको छ। भारतमा सार्क मुलुकबाहेक अन्यत्रबाट भित्रिने अर्ध प्रशोधित तेलमा ३७ दशमलव पाँच र तयारीमा ४५ प्रतिशत आयात शुल्क लगाइएको छ।
निकासी बढेपछि कच्चा तेलको आयात पनि बढेको छ। वीरगञ्ज नाकाबाट चालु वर्षको पहिलो चार महिनामा सात अर्ब ४४ करोड रुपैयाँको ८१ हजार दुई सय ४७ मेट्रिकटन अर्ध प्रशोधित सोयाविन आयल भित्रिएको छ। अघिल्लो वर्ष यही अवधिमा ४२ हजार ६ सय ७२ मेट्रिकटन आयात भएको वीरगञ्ज भन्सारको तथ्यांक छ।