वीरगञ्ज- कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल-भारत सिमानामा आवागमन बन्द गरिएपछि सीमावर्ती भारतीय बजारबाट दैनिक उपयोग्य वस्तु खरिद र त्यस्ता वस्तुको अवैध आयात घटेको छ। यसको सीधा लाभ स्वदेशी उद्योगलाई पुगेको छ। स्वदेशी उत्पादनले बजार पाएका छन्।
उत्पादकहरू यो अवसर लामो समय टिक्नेमा भने ढुक्क छैनन्। सीमामा कडाइ हट्नेबित्तिकै आयातीत वस्तुले स्वदेशी बजारमा पुनः कब्जा जमाउने चिन्ता उनीहरूको छ।
अहिले सिमानामा आवागमन खुकुलो भएसँगै सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जानेको संख्या बढेको छ। सिमाना खुलाउनुपर्ने मागसहित नाकामा धर्नाका कार्यक्रमहरू भइरहेका छन्।
कोभिड-१९ महामारी नियन्त्रणका लागि सरकारले सीमामा मापदण्डविपरीत मानिसको आवागमनमा प्रतिबन्ध लगाएको छ। आयात-निर्यात कारोबारबाहेक अन्य आवतजावतमा रोक लगाइएपछि सीमावर्ती भारतीय बजारबाट हुने किनमेल मात्र बन्द भएको थिएन, अनधिकृत आयातमा समेत कमी आएको थियो।
सिमानामा कडाइ भएपछि स्वदेशमा उत्पादित खाद्यान्न, कपडा, फुटवेयर, दैनिक आवश्यकताका वस्तुलगायतको बिक्री बढेको उद्यमी व्यवसायी बताउँछन्। वीरगञ्जको ओसीबी फुडका सञ्चालक सुरेश रुंगटाका अनुसार स्वदेशी खाद्यान्न उत्पादनको बिक्री २० प्रतिशतसम्म बढेको छ।
कोरोना महामारी र नियन्त्रणका लागि अपनाइएका उपायले समग्र उत्पादन घटे पनि भारतीय बजारबाट हुने किनमेल र अवैध आयात रोकिएकाले स्वदेशी उत्पादन उपभोगको प्रवृत्ति बढेको उत्पादकहरू बताउँछन्। अहिले नाका खुकुलो भएसँगै सीमावर्ती भारतीय बजारहरूमा नेपाली ग्राहकको भीड बढ्न थालेको छ।
सीमा बन्दको समयमा भारतबाट अवैध आयात पनि रोकिएको थियो। अब यस्तो अनधिकृत आयात पुनः शुरु हुने चिन्ता व्यवसायीको छ।
व्यवसायीका अनुसार अवैध रूपमा भित्रिएका खाद्यान्न, कपडा, भाँडाकुँडा, विद्युतीय र हार्डवेयरका सामान सीमावर्ती स्वदेशी बजार र काठमाडौं उपत्यकासम्मै पुर्याइने गरेको छ। राजस्व छलेर भित्रिएका मालसामानको अगाडि स्वदेशी उत्पादन टिक्न नसक्ने उद्यमीको गुनासो छ।
बितेका करिब ६ महिनामा सीमा बन्द हुँदा स्वदेशी खाद्यान्न उद्योगले राहत महसुस गरेको वीरगञ्जको न्यू ओम खाद्य उद्योगका प्रबन्ध निर्देशक विश्वामित्रप्रसाद कलवार बताउँछन्। ‘वीरगञ्ज खाद्यान्न उत्पादनको केन्द्र हो। तर, वीरगञ्जकै बजारमा स्वदेशी ब्रान्डका खाद्यान्न भेट्न कठिन थियो। अहिले स्वदेशी उत्पादनले बजार पाएको छ,’ कलवार भन्छन्।
कोरोना महामारीका बेला चीनतिरका नाकाबाट सामान नआउनु र भारततर्फको खुला सिमाना बन्द भएपछि स्वदेशी बजारमा चप्पलको पनि माग बढेको सरोकारका उद्योगीले बताएका छन्। ‘चीनबाट सस्तो मूल्यमा चप्पल भित्रिँदा स्थानीय उत्पादनले बजार पाएको थिएन। त्यताबाट आयात प्रभावित भएपछि स्वदेशी हवाइ चप्पलको माग बढेको छ,’ प्रेस्टिज समूहका प्रबन्ध निर्देशक विनय शाह भन्छन्।
यस्तै, स्यानिटाइजरको माग ह्वात्तै बढेको छ। यसअघि सामान्यतः अस्पतालहरूमा मात्र प्रयोग हुने स्यानिटाजर अहिले घर-घरमा खपत भइरहेको छ। माग बढेपछि स्वदेशका ४० औषधि उद्योगले उत्पादनको स्वीकृति लिएका छन्। तीमध्ये ३० वटाले उत्पादन थालेको नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष दीपक दाहाल बताउँछन्।
सीमाञ्चलका बजार प्रवृत्तिबारे लेख्दै आएका विश्लेषक एवं उद्योगी जगदीशप्रसाद अग्रवाल यथास्थितिमा स्वदेशी उत्पादकले यो लाभ लामो समयसम्म लिन नसक्ने दाबी गर्छन्। ‘सीमा बन्द हुनुका कारण पाएको अवसर टिकाउ हुँदैन। स्वदेशी उद्योगले बजारमा दीर्घकालीन रूपमा प्रभाव जमाउन त उत्पादनलाई प्रतिस्पर्धी बनाउनुपर्छ,’ अग्रवाल भन्छन्।
स्वदेशीभन्दा सीमावर्ती भारतीय बजारमा सस्तो मूल्यमा सामान पाएसम्म उपभोक्ता उतै आकर्षित हुने अग्रवालको दाबी छ। स्वदेशी उत्पादनलाई आयातीत वस्तुको तुलनामा सस्तो र गुणस्तरीय बनाए मात्रै दीर्घकालीन हुने उनको ठम्याइ छ। सरकारले पूँजी, ऊर्जा, श्रम, पारवहनलगायतको लागत घटाउने नीति लिनुपर्ने अग्रवालको सुझाव छ।