काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी भएका छन्। हिजो सम्पन्न निर्वाचनको आज बिहान सकिएको मतगणनाअनुसार किशोरकुमार प्रधानलाई हराउँदै ढकाल निर्वाचित भएका हुन्।
ढकालले जिल्लानगरतर्फ ५२, वस्तुगततर्फ ५९ र एसोसिएटतर्फ पाँच सय २२ मत ल्याए। प्रधानले जिल्लानगरतर्फ ढकालको भन्दा बढी ५३ मत ल्याए पनि वस्तुगततर्फ ३९ र एसोसिएटतर्फ तीन सय ७५ मत पाए।
यसअघि ढकाल एसोसिएट र प्रधान जिल्ला नगरका उपाध्यक्ष थिए। वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएसँगै ढकाल तीन वर्षपछि महासंघको अध्यक्ष बन्ने निश्चित भएको छ। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ। हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आजदेखि महासंघको अध्यक्ष बनेका छन्।