बारा- सिमरास्थित जगदम्बा स्टिलको कवाड गलाउने भट्टी विष्फोट भएको छ। शनिबार बिहान करिब १ बजे उद्योगको भट्टी विष्फोट हुँदा चार कामदार घाइते भएका छन्।
घाइतेमध्ये दुई नेपाली र दुईजना भारतीय छन्। घाइतेमध्ये सर्लाहीका विकिन्द्र यादवको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय, सिमराका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनलाई थप उपचारका लागि काठमाडौं लगिएको उद्योगका सञ्चालक पवन गुप्ताले बताए।
सर्लाही बरहथवाका मुकेश साहको वीरगञ्जको नेसनल हेल्थ केयरमा उपचार भइरहेको छ। भारत मोतिहारीका नैमुदिन आलम र जनकदेव यादवको स्थानीय तराई अस्पतालमा उपचार भएको प्रहरीले बताएको छ।
भट्टीमा पानीको प्रवाह कम भएर विष्फोट भएको हुनसक्ने सञ्चालक गुप्ताले बताए। जगदम्बाले पुरानो फलाम कवाड गलाएर डण्डीको कच्चा पदार्थ बिलेट बनाउन भट्टी सञ्चालन गर्दै आएको छ।