कैलाली- कोरोना संकटबीच सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा खर्च वृद्धि गरेको छ।
सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले प्रदेश सरकारले पहिलो चौमासिकमा ६ दशमलव २९ प्रतिशत अर्थात दुई अर्ब ९ करोड ८६ लाख ३६ हजार रुपैयाँ खर्च गरेको जानकारी दिए।
चालू आर्थिक वर्ष ०७७-७८ को प्रथम चौमासिकसम्मको बजेट खर्च र राजस्व संकलनको अवस्था सार्वजनिक गर्दै मन्त्री बोहराले यस वर्ष गत वर्षभन्दा एक दशमलव ७६ प्रतिशतले खर्च वृद्धि भएको बताए। गत वर्ष पहिलो चौमासिकमा कुल बजेटको चार दशमलव ५३ प्रतिशत मात्रै खर्च भएको उनले जानकारी दिए।
चालु आर्थिक वर्षमा चालुतर्फ एक अर्ब १० करोड ४७ लाख ५० हजार अर्थात ६ दशमलव ६५ प्रतिशत र पुँजीगततर्फ ९९ करोड ३८ लाख ७६ हजार अर्थात पाँच दशमलव ९३ प्रतिशत खर्च भएको मन्त्री बोहराले बताए।
गत आव ०७६-७७ को पहिलो चौमासिकमा चालुतर्फ ५ दशमलव ४० प्रतिशत र पुँजीगततर्फ तीन दशमलव ५२ प्रतिशत मात्रै खर्च भएको थियो।
यसवर्ष चालु तर्फ एक दशमलव २५ र पुँजीगततर्फ दुई दशमलव ४१ प्रतिशतले खर्च बढी भएको मन्त्री बोहराले जानकारी दिए। चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्ब ३८ करोड १३ लाख ५८ हजार बजेट विनियोजन गरेको छ।
यस्तै, पहिलो चौमासिकमा गत वर्षभन्दा ६४ दशमलव ४५ प्रतिशतले बढी राजस्व संकलन गरेको अर्थमन्त्री बोहराले जानकारी दिए।
चालु आर्थिक वर्षमा ७६ करोड ७० लाख ३० हजार राजस्व संकलन गर्ने लक्ष्य थियो। पहिलो चौमासिकमा ४५ दशमलव ९३ प्रतिशत अर्थात ३१ करोड ९ लाख ६६ हजार राजस्व संकलन गरेको बताउँदै मन्त्री बोहराले गत आर्थिक वर्षमा प्रदेश सरकारले पहिलो चौमासिकमा ३२ दशमलव १२ प्रतिशत मात्रै राजस्व संकलन गरेको जानकारी दिए। यस्तै, चालु आवमा निकासा बजेटको ९० प्रतिशतसम्म खर्च गर्नेगरी तयारी थालिएको उनको भनाइ छ।