कैलाली- सुदूरपश्चिम प्रदेशमा प्रहरी संगठनविरुद्ध गतिविधि गर्ने ५३ जना प्रहरी कारबाहीमा परेका छन्।
चालु आर्थिक वर्ष ०७७-७८ को कात्तिक मसान्तसम्ममा संगठनविरुद्ध गलत क्रियाकलाप गरेको बताउँदै प्रहरी जवानदेखि निरीक्षकसम्मलाई नसिहतदेखि बर्खास्तसम्मको कारबाही गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले जानकारी दिए।
उनका अनुसार कारबाहीमा पर्नेमा प्रहरी निरीक्षक एक, नायब निरीक्षक दुई, सहायक निरीक्षक पाँच, हवल्दार १४, जवान २८ र अन्य तीन छन्।
यस्तै, सोही अवधिमा संगठनले दिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेका र उत्कृष्ट कार्य गरेका एक सय ७७ प्रहरीलाई पुरस्कृत गरिएको छ। पुरस्कृत हुनेमा एसएसपी दुई, एसपी एक, डीएसपी चार र नौजना छन्।
यस्तै, नायब निरीक्षक २४, सहायक निरीक्षक २०, हवल्दार ३९, जवान ७५ र अन्य तीनजना पुरस्कृत भएको एसएसपी सिंहले जानकारी दिए।
करिब २८ लाख जनसंख्या रहेको सुदूरपश्चिममा ६ हजार ६ सय ८४ जना प्रहरी दरबन्दी छ। तर, दरबन्दीअनुसारको जनशक्ति नरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। हाल प्रदेशमा पाँच हजार नौ सय ६० जना प्रहरी मात्र कार्यरत रहेको एसएसपी सिंहले बताए।