वीरगञ्ज- वीरगञ्ज भन्सारले नाकाबाट हुने आयात कारोबारलाई छरितो र पारदर्शी बनाउन भन्सारमा स्वचालित ब्यारियर सञ्चालनमा ल्याएको छ। वीरगञ्जको इनर्वा-रक्सौल नाकाको यो व्यारियर नेपालकै पहिलो स्वचालित ब्यारियर हो।
स्वचालित प्रणाली लागू भएपछि भन्सारको गेट खोल्न अब कर्मचारी आवश्यक नपर्ने भन्सारले बताएको छ। ‘अब नाकाबाट आयातकर्ताले झुक्याएर वा कर्मचारीसितको मिलेमतोमा एकै एक्जिट नोटमा एकभन्दा बढी गाडी पास गराउन सक्दैनन्,’ भन्सारका एक अधिकृतले भने। यो प्रविधिले भन्सार परिसरमा भित्रिने र बाहिरिने गाडीहरूको विवरण पनि अद्यावधिक गर्ने ती अधिकृतले जानकारी दिए।
भन्सारबाट जाँचपास भएको गाडीलाई प्रदान गरिने एक्जिट नोटका आधारमा स्वचालित प्रविधिबाट गेट खुल्ने र यो प्रणालीबाट आयात कारोबार थप पारदर्शी हुने वीरगञ्ज भन्सारका अधिकृत रमेश सुकमनीले बताए। प्रत्येक गाडीलाई दिइने एक्जिम नोटको बार कोडलाई सिस्टमले स्वीकृत गरेपछि स्वचालित रूपमा गेट खुल्ने सुकमनीले जानकारी दिए।
यो प्रणालीलाई भन्सारले प्रयोग गरिरहेको आसिकुडा अनलाइन प्रणालीमा जोड्ने गृहकार्य भइरहेको भन्सारले जनाएको छ। अनलाइन प्रणालीमा आवद्ध भएपछि नाकाको गतिविधिमा भन्सार विभागले सीधै निगरानी राख्न सक्छ।
वीरगञ्ज आयात-निर्यात कारोबारका आधारमा सबैभन्दा ठूलो नाका हो। वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) भन्सार पनि यो स्वचालित प्रविधि प्रयोगमा ल्याउने योजना भन्सारको छ। आईसीपीको आयाततर्फका दुई प्रवेशविन्दुमा यो प्रणाली राख्न नेपाल इन्टर मोडल यातायात विकास समितिलाई पत्राचार गरिसकिएको सुकमनीले बताए।