वीरगञ्ज- कोरोना महामारी नियन्त्रणका लागि लगाइएको लकडाउन र निषेधाज्ञा हटेपछि आयात-निर्यात कारोबारमा क्रमिक सुधार आएसँगै भन्सारको राजस्वमा पनि बढोत्तरी भएको छ। वीरगञ्ज भन्सारले चालु आर्थिक वर्ष ०७७-७८ को कात्तिकमा तोकिएको राजस्वको लक्ष्य भेट्टाएको छ।
वीरगञ्ज भन्सारले कात्तिकका लागि साढे १० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य पाएको थियो। १३ अर्ब ८९ करोड रुपैयाँ संकलन भएको भन्सार अधिकृत रमेश सुकमनीले जानकारी दिए। यो रकम लक्ष्यको तुलनामा ३२ प्रतिशत बढी हो।
यो नाकाबाट पेट्रोलियम पदार्थ र गाडी आयात बढेकाले राजस्वमा सुधार आएको भन्सार अधिकृत सुकमनीको भनाइ छ। पेट्रोलियम र गाडीको आयात कात्तिकमा केही सुधार आएको उनले बताए।
‘लकडाउन र निषेधाज्ञा खुलेपछि बढेको खपतका कारण यस्तो आयात बढेको हो। तयारी कपडा, भटमासको कच्चा तेल, एचआरसीटजस्ता वस्तुको आयात पनि बढेको देखिन्छ,’ सुकमनीले भने।
पछिल्लो समयमा यो भन्सारबाट सामान्य अवस्थासरह मालसामान भित्रिन थालेको छ। लकडाउन र निषेधाज्ञामा यो भन्सारबाट दिनमा पुगनपुग डेढ सय गाडीजति मालसामान भित्रिने गरेको थियो। अहिले यो संख्या करिब सात सय पुगिसकेको छ।
सुक्खा बन्दरगाह भन्सारबाट समेत दैनिक तीन सय हाराहारीमा कन्टेनर बाहिरिने गरेका छन्। बोराबन्द र फलामको कार्गो पनि बढिरहेको सुक्खा बन्दरगाह भन्सार कार्यालयका अधिकृत जगदीश पुर्वेले जानकारी दिए।
अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा समग्र व्यापार भने ऋणात्मक नै देखिन्छ। अघिल्लो वर्षको तुलनामा आयात-निर्यातमा कमी आएकाले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिका लागि वीरगञ्ज भन्सारले लिएको राजस्व लक्ष्य पनि पूरा भएको छैन।
साउनदेखि कात्तिकसम्मका चार महिनामा वीरगञ्ज भन्सारले ४५ अर्ब ८३ करोड रुपैयाँको लक्ष्य पाएको थियो। यो अवधिमा ४३ अर्ब ६७ करोड रुपैयाँ संकलन भएको छ।
चालु आर्थिक वर्षको भदौ र असोजमा लक्ष्यअनुसार राजस्व नउठ्दा चौमासिक प्रगतिमा नकारात्मक प्रभाव परेको भन्सार अधिकृत सुकमनीले बताए।