काठमाडौं बौद्धनाथ स्तुपाको पछाडि ‘घ्योइ लिसाङ शान्ति वाटिका’ छ। त्यसको मध्यभागमा रहेको पोखरीबारे स्थानीय बासिन्दाबाहेक कमैलाई जानकारी होला। बौद्धनाथ क्षेत्र विकास समितिका अनुसार स्तुपा निर्माणका क्रममा हाल पोखरी रहेको स्थानको माटो प्रयोग गरिएको थियो। स्तुपा तयार भएपछि खाडल बनेको स्थानमा पोखरी बनाइयो।
त्यसो त, प्राचीनकालमा काठमाडौं उपत्यका नै ठूलो ताल रहेको विभिन्न अध्ययनले पुष्टि गरेका छन्। जब तालको पानी बगेर बाहिर निस्कियो, उपत्यकामा मानवबस्ती बस्न थाल्यो। त्यसयता पनि उपत्यकामा प्रशस्त पोखरी थिए, जुन उपत्यकामा सहर विकाससँगै मासिँदै गएका छन्। त्यसरी नै मासिएको छ, ललितपुरस्थित प्रयागपोखरी। हाल जिल्ला खेलकुद विकास समितिको भवन रहेको यस ठाउँमा पोखरीको नामोनिशान छैन। हरेक वर्ष गाईजात्राका दिन पोखरीको सानो भागमा पानी भरिन्छ र पाटनका बासिन्दाले दिंवगत पितृको सम्झनामा बत्ती बाल्छन्। गाईजात्रा सकिनासाथ पानी सुकाइन्छ।
ललितपुरकै इटापुख पोखरी विसं १९९० को भूकम्पका कारण सुकेको स्थानीय बासिन्दाको भनाइ छ, जुन अहिले सानो चतुर्भुज आकारमा खुम्चिएको छ। ललितपुरकै कुमारीपाटीमा सानो आकारमा खुम्चिएको छ, ‘तः पुखु’। कुनै समय यो ११ रोपनीमा फैलिएको थियो।
स्थानीय शैलेन्द्र श्रेष्ठका अनुसार यस पोखरीको जग्गा पञ्चायतकालमै लिलामी गरिएको थियो। हाल पोखरी परिसरमा गणेश, सरस्वती, नारायण, महांकाल र बुद्धका मूर्ति राखिएको छ। यस्तै, पुलचोकमा ३२ रोपनीमा फैलिएको ‘पलेस्वाँ पोखरी’ थियो। नेपाली भाषामा यसको अर्थ कमलपोखरी हुन्छ, जुन अहिले सानो आकारमा खुम्चिएको छ। पोखरीको जग्गामा ललितपुर महानगरपालिकाको भवन, त्रिपद्म मावि र पर्यटक बसपार्क बनाइएको छ। ०२९ सालमै सर्वोच्च अदालतले अतिक्रमण हटाएर पोखरीलाई पुरानै स्वरूपमा फर्काउन आदेश दिएको थियो, तर कार्यान्वयन भएको छैन।
पोखरी मासेर भवन, बसपार्क र विद्यालय भवनलगायत संरचना बनाउने क्रम बढेपछि अहिले स्थानीय बासिन्दा र नगरपालिकाहरूको पहलमा यस्ता पोखरी पुनर्निर्माण हुने क्रममा छन्।
ललितपुर पाटनढोकानजिकै पर्छ, पिमबहाल पोखरी। पञ्चायतकालमै यसलाई पुरेर बजार स्थापना गर्ने प्रयास भएको थियो। तर, स्थानीयवासीको विरोधका कारण त्यो प्रयास असफल भयो। पाटनका बासिन्दाका लागि अहिले यो साँझबिहान टहलिने गन्तव्य बनेको छ। यस पोखरीलाई नेपाल भाषामा ‘जग मदु पुखु’ भनिन्छ, जसको अर्थ ‘जग नभएको पोखरी’ हुन्छ।
यस पोखरीमा माछापालन पनि गरिएको छ। पानीको फोहरा, चाडपर्व विशेषमा चलाइने डुंगा र ढुंगेधाराले पोखरीको सौन्दर्य बढाएका छन्। पोखरी छेउमै रहेको मन्डा फल्चामाथि तीन सय वर्ष पुरानो माटोको गजुर यहाँको अर्को महत्वपूर्ण वस्तु हो। राजा सिद्धिनरसिंह मल्लको पालामा परेको खडेरीबाट पार पाउन यो पोखरी निर्माण गराइएको जनश्रुति छ।
भक्तपुरको सैनिक आवासीय महाविद्यालय परिसरमा रहेको करिब तीन सय वर्ष पुरानो भाजुपोखरी पनि पुनर्निर्माणको क्रममा छ। मध्यपुर ठिमी नगरपालिकाले पोखरीलाई पुनर्जीवन दिने प्रयास थाल्नुअघिसम्म यहाँ घाँसे मैदान थियो। सोही नगरपालिकाले स्थानीय ‘विष्णुकुण्ड’लाई पनि पुनर्जीवन दिएको छ। भक्तपुरमा मात्र आठवटा पोखरी पुनर्निर्माणको क्रममा छन्। ‘सहरी इलाकाका लागि पोखरी अपरिहार्य छन्,’ संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठ भन्छन्, ‘लिच्छवी र मल्लकालीन राजाहरूले उपत्यकामा पोखरी निर्माण गराएको
पाइन्छ, जुन सहरी विकाससँगै मासिँदै गएका हुन्।’ पोखरीको पानी जमिनले सोसेर मूल फुट्ने एक मुख्य आधार रहेको जानकारहरूको भनाइ छ।