कैलाली- भारतीय पेन्सनधारी नेपालीहरूका लागि भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पाँच दिनका लागि खोलिने भएको छ।
८ देखि १२ मंसिरसम्मका लागि नाका खोलिन लागेको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।
लकडाउनका कारण पेन्सन बुझ्न नपाएका भारतीय पेन्सनधारी नेपालीलाई सहज होस् भनेर नाका खोल्ने सहमति भएको प्रजिअ जोशीले बताए।
उनका अनुसार नेपाल सरकारको निर्णयअनुसार जिल्ला प्रशासन बैतडी र पिथौरागढ डिस्ट्रिक्ट मजिस्ट्रट कार्यालयको समन्वयमा नाका खोल्न लागिएको हो।
बैतडीमा मात्रै एक हजार पाँच सयभन्दा बढी भारतीय भूपू सैनिक र अन्य गरी दुई हजारभन्दा बढी पेन्सनधारी रहेको प्रजिअ जोशीले जानकारी दिए। उनीहरूमध्ये केहीले गत असारमा पेन्सन बुझेका थिए। तर, अझै अधिकांशले पेन्सन बुझ्न पाएका छैनन्।