मुम्बई (बीबीसी)- भारतमा साथीको खोजीमा निस्केको एक बाघले तीन हजार किलोमिटर यात्रा गरेको छ। साढे तीन वर्षको बाघले आफ्नो यात्रा महाराष्ट्रको ध्यानगंगा वन्यजन्तु आरक्ष पुगेर यात्रा रोकेको छ।
गत जुनमा यो बाघ साथीको खोजीमा निस्केको थियो, जो साथी र आहारा खोजीमा निस्केको हुन सक्ने वन अधिकारीहरूको भनाइ छ।
बाघको घाँटीमा रेडियो कलर जडान गरिएको थियो। महाराष्ट्र र तेलंगानाका सातवटा जिल्ला घुम्दै ध्यानगंगा वन्यजन्तु आरक्ष पुगेको थियो।
दुई सय पाँच वर्गकिलोमिटरमा फैलिएको ध्यानगंगा वन्यजन्तु आरक्ष चितुवा, नीलगाई, बँदेल, हरिणलगायत वन्यजीवको बासस्थान मानिन्छ। तीन हजार किलोमिटर यात्रा पूरा गरेर उक्त आरक्षमा प्रवेश गरेको बाघ अहिले एक्लो बाघ बनेको छ।
‘अब यसलाई सीमाको चिन्ता छैन, यहाँ उसका लागि शिकार पनि पर्याप्त छन्,’ महाराष्ट्रका वरिष्ठ वन अधिकारी नितिन काकोडकरले बीबीसीसँग भने। उनका लागि आरक्षमा बघिनी ल्याउने तयारी भइरहेको वन अधिकारीहरूले बताएका छन्।
उनीहरूका अनुसार बाघ एक्लै बस्ने जीव होइन। त्यसैले बघिनी ल्याएपछि मात्र आरक्षमा उसलाई रोक्न सकिने अधिकारीहरूको बुझाइ छ।
‘ध्यानगंगा धेरै ठूलो आरक्ष होइन, जसको चारैतर्फ खेती हुन्छ,’ काकोडकरले भने, ‘यो बाघले प्रजनन गर्न थालेपछि अन्य वन्यजीव दबाबमा पर्नेछन्।’
भारतमा विश्वको कुल संख्याको २५ प्रतिशत बाघ पाइन्छन्। अर्थात्, करिब दुई हजार नौसय ६७ वटा बाघ भारतका जंगलमा पाइने अनुमान छ। पछिल्ला वर्षमा भारतको बाघको संख्या बढेको छ तर उनीहरूका लागि आहाराको कमी छ।
उक्त बाघले तीन हजार किलोमिटर यात्रा पूरा गर्न सीधा बाटो रोजेन। कहिले कता कहिले कता भड्किएको उसलाई पाँच हजारभन्दा बढी स्थानमा ट्रयाक गरियो। त्यसक्रममा नदी किनार र राजमार्गआसपासका जंगलमा बढी देखियो।
महाराष्ट्रमा जाडोयाममा कपास टिप्ने गरिन्छ। कपासको झाडीमा बाघ सजिलै लुक्न सक्छ। यो बाघले प्रायः राति यात्रा गरेको थियो। बँदेल र घरपालुवा चौपायाको शिकार गर्दै पेट भर्ने गरेको पाइएको थियो।
यस जोखिमपूर्ण लामो यात्रामा एकपटक मानिसमाथि पनि जाइलागेको थियो। उसले एकजनलाई सामान्य घाइते बनाएको थियो।
‘यस बाघको लामो यात्राबाट पूर्वाधार विकास र मानिसको बढ्दो आवादीका कारण वन्यजन्तु दबाबमा पर्न थालेको देखिन्छ,’ भारतीय वन्यजीव संस्थानका वरिष्ठ जीव वैज्ञानिक बिलाल हबिब भन्छन्, ‘तथापि, ग्रामीण भेगमा अझै पनि वन्यजन्तुले सहजै यात्रा गर्न पाइरहेका छन्। ग्रामीण क्षेत्रमा भएको विकासले वन्यजन्तुको सहज आवागमन रोकिइसकेको छैन।’