राप्ती नदीमा बाइकसहित डुंगा डुब्यो, शिवपुरी जंगलमा झण्डै अलपत्र
पारससमसेर राणा
बाइक राइडिङ किशोरावस्थादेखिको सोख हो। एसएलसी दिएपछि फुर्सदको समयमा पहिलोपटक लामो यात्रामा निस्किएको थिएँ। सेन्ट जेभियर्स स्कुलबाट एसएलसी दिएको हुँ। पहिलोपटक बाइकमा एकजना साथीसँग चितवन राष्ट्रिय निकुञ्जको जंगल पुगेको थिएँ। भीमफेदीको बाटो चितवन पुगेका थियौँ।
पर्यटक आउने अफ सिजनको समय थियो। हामीलाई जंगली जनावर कस्ता हुन्छन् भन्ने पनि ज्ञान थिएन। तर, निकुञ्जको अनुमति लिएर गयौँ। बाइकलाई डुंगामा राखेर राप्ती नदी पार गर्र्यौँ। हामी टाइगर टपतिर अगाडि बढ्यौँ। तर, थोरै अगाडि बढेपछि माटोको भास थियो। बाइक कुदाउनै गाह्रो। जंगली झाडीमा बाइक अल्झिएर लड्यौँ पनि।
अलि अगाडि गएपछि सेनाको टोली राइफल तेर्स्याउँदै आयो। मेरो साथी डरायो। तर, मेरो परिवार सैनिक पृष्ठभूमिको भएकाले मलाई डर लागेन। म राणा प्रधानमन्त्री देवसमशेरको पनाति हुँ। देवसमशेरको छोरा लवसमशेर, उहाँको छोरा शम्भुसमसेर र उहाँको छोरा म।
सबै इतिवृत्ति बताएपछि सेनाको टोलीले जंगली जनावरले आक्रमण गर्न सक्ने जोखिम औँल्याए। हामीले टाइगर टपसम्म पुगेरै छाड्ने अड्डी कस्यौँ। त्यतिवेला म डट बाइक कुदाउँथेँ। जसोतसो टाइगर टप पुगियो। मेरो मामा विश्वबिक्रम शाह दरबारको वन्यजन्तु विभागमा हुनु भएकाले निकुञ्जका वार्डेन पनि चिनेकै व्यक्ति थिए। मामाको नाम लिएपछि अझ सहज भएको थियो, टाइगर टपसम्म पुग्न।
भोलिपल्ट फर्किने क्रममा फेरि राप्ती नदी तर्नु थियो। बाइकसहित डुंगामा चढ्यौँ। अघिल्लो दिन जाँदा माझीले बाइक सुताएर राखेका थिए, डुंगामा। फर्किँदा भने उभ्याएर राखिदिए। नदीमा हेलिनासाथ डुंगा पल्टियो। बाइक पानीमा डुब्यो। जसोतसो बाइक निकालियो। धन्न हामी पनि गोहीको शिकार बनेनौँ। पानीमा परेकाले बाइक बिग्रियो। फर्केर त्यसदिन कसरामा बसियो। भोलिपल्ट भने बाइक डुंगामा सुताएर नदी पार गर्यौँ।
शिवपूरी जंगलमा हराएँ
दुई वर्षअघि शिवपुरीस्थित विपश्यना ध्यान केन्द्रमा रहेकी छोरी भेट्न माइतीघरस्थित घरबाट एक्लै बाइकमा निस्किएँ। नेपाली सेनाको स्टाफ कलेजको गेटमा पुग्दा दिउँसो करिब दुई बजेको थियो। शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा बाइक राइडिङको रहर जाग्यो। करिब १२ किलोमिटर उकालो चढेपछि डाँडामा पुगिने रहेछ।
म शिवपुरी पुग्दै अपराह्न २ बजिसकेको थियो। सेनाको अनुमति लिएर अगाडि बढें। सैनिकहरूले बाटोमा झरना आउँछ, जहाँ अप्ठेरो बाटो छ भनेका थिए। खुट्टा जमिनमा टेकेर बाइकलाई झरनाबाट पार गराएँ। अगाडि बढ्दै गर्दा रुखहरूबाट झरेको पानीले बाटो कोतरेको थियो, ढुंगै ढुंगा मात्र थिए। खुट्टा टेक्दै केही अगाडि बढेपछि अर्को झरना आयो। थाकिसकेको थिएँ, अप्ठेरो ओरालो बाटो फर्किन मन लागेन, अगाडि बढ्दै घना जंगलभित्र पुगें। किनाराबाट काठमाडौं उपत्यका देखिन्थ्यो, केही तल विपश्यनाको ध्यान केन्द्र देखिँदै थियो।
एक्कासी चिप्लेर बाइक लड्यो, उठेपछि बाइक स्टार्ट भएन। मोबाइलमा नेटवर्क थिएन। जंगलभित्र भएर होला झमक्क साँझ पर्न लागेजस्तो लाग्यो। राति जंगलमै बस्न चितुवाको शिकार हुने जोखिम हुन्थ्यो। अनि बाइक साइड लगाएर पैदल अगाडि बढें। करिब आधा घण्टा हिँडेपछि मोबाइलको सिग्नल देखायो र मिस्त्रीलाई फोन गरें।
स्टाफ कलेजमा रहेका साथीहरूलाई पनि फोन गरें। तर, म कहाँ छु भन्ने आफैंलाई थाहा थिएन, साथीहरू मलाई लिन कहाँ आउन् ?
मिस्त्रीले एकपटक फेरि प्रयास गर्नुस्, बाइक स्टार्ट हुन्छ भनेर ढाढस दिलाए। आधा घण्टा फर्किएर प्रयास गर्दा स्पेनमा बनेको मेरो रेजु बाइक स्टार्ट भयो। त्यसपछि सावधानीका साथ अगाडि बढें। झमक्क साँझ पर्ने बेलामा नुवाकोटतिर जाने सडकमा निस्किएँ।
लामो यात्रामा जाँदा डट बाइक प्रयोग गर्छु। यो स्पेनिस कम्पनीको रेजु बाइक हो। यसको मूल्य ६ लाख रुपैयाँ पर्छ। यसको स्पिड भने त्यति हुँदैन तर पावर अत्यधिक दिन्छ।
कालिन्चोकका अप्ठ्यारा घुम्ति
म एकपटक कालिन्चोक ग्रुपमा राइडिङ गएको थिए। त्यतिबेला त्यहाँ नयाँ बाटो बनेको रहेछ १७ किलोमिटर। भर्खर भर्खर बनेको बाटो। बाटोमा धुलै धुलो थियो। अलि उमेर भइसकेकाले म विस्तारै बाइक हाँकिरहेको थिएँ। साथीहरू दौडिहाले। रात पर्दै गएपछि एकदमै डर लाग्न थाल्यो।
मानिस कोही पनि छैन, बाटो पनि धुलोले केही नदेखिने। सबै अगाडि गइसकेका थिए। केहीबेरपछि म पनि माथि पुगेँ। डाँडामा तीव्र गतिमा बतास चलिरहेको थियो। अन्धकार भइसकेको थियो। अलिक पर हेरेको एउटा बाइक देखेँ। एउटा साथी बाइक बिग्रेर बसेको रहेछ।

पछाडिको मानिस कोही आउँदैन, अगाडिका साथी कहाँ पुगे कहाँ ! मोबाइलको नेटवर्क थिएन। अलि माथि पुगेपछि एउटा साथी बाइक रोकेर बसिरहेका रहेछन्। उनलाई पनि डर लागेर रोकिएका रहेछन्।
केहीबेर त्यहीँ आराम गर्यौँ। बाटो धेरै अप्ठ्यारो थियो, अत्यासलाग्दा घुम्तिहरू। केहीबेरपछि तल बजारमा बत्ति बलेको देखियो। हामी तल पुग्दा राति १० बजेको थियो। एक घण्टापछि अन्य साथी पनि आइपुगे।
हजुरबाको कर्मथलोमा राइडिङ
पाल्पा गइरहन्छु। पाल्पालाई अध्ययन क्षेत्र बनाएको छु। काठमाडौंको भाइ पनि भन्छन्, पाल्पालाई। त्यहाँ काठमाडौंकै जस्तो रीतिरिवाज छन्। मन्दिरलगायत अन्य धेरै कुरा काठमाडांसँग मिल्छन्। प्राचीनकालमा पाल्पा व्यापारिक थलो थियो। भारत र तिब्बतबीच व्यापारको केन्द्र थियो। पाल्पामै बडाहाकिम बस्थे। पाल्पामा खड्गसमशेरले रानीमहल बनाएका छन्।
राणा शासनमा पाल्पा एक शक्तिकेन्द्र थियो। त्यहाँ पहिले उजिरसिंह थापाले अंग्रेज फौजलाई पराजित गरेका थिए। राणा शासनकालमै पाल्पामा भगवती जात्रा शुरु भएको मानिन्छ। मेरो हजुरबा लवसमशेर ०१२ देखि ०१५ सालसम्म पाल्पामा बडाहाकिम भएर बस्नुभएको थियो। हजुरबाको कर्मथलो भएकाले पनि पाल्पा क्षेत्रलाई मैले अध्ययनको क्षेत्र बनाएको हुँ।
मेरा साथीहरूले म पाल्पा गइरहने पत्ता लगाएछन्। उनीहरूले आफूलाई पनि पाल्पा चिनाइदिन आग्रह गरे। र, दुई वर्षअघि राइडिङमा जाने योजना बनायौँ। सिद्धबाबा भन्ने ठाउँ अलि खतरनाक थियो। तर, त्यहाँ जोखिम मोल्नु परेन। त्यहाँ एकपटक माथिबाट ढुंगा झरेर गाडी किचेको भन्ने समाचारले हामी बढी डराएका थियौँ।
पाल्पा अझै विकास हुन सकेको छैन। तर, पाल्पाको भविष्य राम्रो छ। नजिकै लुम्बिनी छ। अर्कोपट्टि पर्यटकीय शहर पोखरा, रिडी र भैरवस्थान छन्। कालीगण्डकी नदी पनि नजिकै पर्छ। रानी महलछेउमा कालीगण्डकी उत्तरबाहिनी बनेर बगेको छ। यसलाई पवित्र नदी मानिन्छ।