काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल प्रहरीमा एक जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप गरेका छन्। यससँगै हालका वरिष्ठ प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई एआईजी बनाउने तयारी गरिएको छ।
गृह मन्त्रालयले पाँचजना डीआईजीको दरबन्दी थप्ने गरी संगठनात्मक स्वरूप निर्धारण (ओएन्डएम) मन्त्रिपरिषदमा पठाएको थियो। तर, एआईजीको दरबन्दीसमेत थप्नुपर्ने दबाबका कारण लामो समयदेखि प्रस्ताव थन्किएको थियो।
पछिल्लो समय अध्ययनका लागि भन्दै प्रस्तावलाई उपप्रधानमन्त्री पोखरेल नेतृत्वको प्रशासनिक समितिमा पठाइएको थियो। हाल पार्टीभित्र प्रधानमन्त्री केपी ओली एक्लिरहेका वेला उपप्रधानमन्त्री नेतृत्वको समितिले एआईजीसमेत थप्नुपर्ने बताउँदै प्रस्ताव क्याबिनेटमा लगेको थियो। ओलीले त्यसलाई हालै बसेको मन्त्रिपरिषद्बाट स्वीकृत गरिदिएका छन्।
हाल एआईजी बढुवाका प्रमुख दाबेदार रहेका पोखरेल उपप्रधानमन्त्री पोखरेलका नातेदार पनि हुन्।
उनी हाल महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत छन्। उनीसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का डीआईजी सहकुल थापा र प्रदेश २ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंह पनि एआईजी बढुवाका आकांक्षी हुन्।
तर, जुन हिसाबले एक एआईजीको मात्र दरबन्दी थपिएको छ, त्यसले वरिष्ठ डीआईजी पोखरेललाई नै एआईजीमा बढुवा गर्ने योजनामा सरकार रहेको देखिएको प्रहरी मुख्यालयका एक अधिकृतले बताए। पोखरेल अहिले एआईजी भए हालका आईजीपी शैलेश थापा क्षत्रीको अवकाशपछि उनी स्वतः प्रहरी नेतृत्वमा पुग्नेछन्।