वीरगञ्ज- पर्सा नेपालमा कोरोना संक्रमणको उद्गम हो। एकताका कोरोना उत्कर्षको केन्द्र बनेको यो जिल्ला अहिले तुलनात्मक सुरक्षित मानिएको छ।
काठमाडौंमा दुईजनामा संक्रमण भेटिएपछि सरकारले ११ चैतदेखि देशव्यापी लकडाउन घोषणा गर्यो। त्यतिबेला एकजना संक्रमित निको भइसकेका थिए। अर्का एकजना उपचाररत थिए। वैशाख शुरुमा वीरगञ्जमा तीनजना भारतीय नागरिकमा संक्रमण देखिएयता सीमावर्ती पर्सा जिल्ला कोरोनाको केन्द्र रहँदै आयो।
‘प्रशासन र सरोकार मञ्चको प्रयासमा प्रदेश सरकार, वीरगञ्ज महानगर र नारायणी अस्पतालबीच प्रभावकारी समन्वय स्थापित भयो। यही समन्वयले अहिले पर्सालाई संक्रमणबाट तुलनात्मक सुरक्षित बनाएको छ,’ नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य अशोक टेमानी भन्छन्।
अहिले काठमाडौं उपत्यकासहित अन्य क्षेत्रमा कोरोना फैलिइरहँदा पर्सामा संक्रमण अत्यन्तै न्यून छ। वीरगञ्जको नेसनल मेडिकल कलेज अस्थायी कोरोना अस्पताल र सामुदायिक आइसोलेसनमा संक्रमित संख्या पुगनपुग एक दर्जनजति छ। भारतसित खुला सिमाना जोडिएकाले संक्रमणको उच्च जोखिममा रहेको पर्सामा कसरी कोरोना नियन्त्रणमा आयो ? कोरोना नियन्त्रणमा पर्साको मोडेल अन्यत्रका लागि पाठ हुन सक्छ।
संक्रमणको ग्राफ
सरकारले लकडाउन खुकुलो बनाएसँगै लक्षणसहितका संक्रमित पनि वीरगञ्जमै भेटिए। १ साउनमा पर्सामा एक सय ५६ जनामा देखिएको संक्रमण भदौ दोस्रो साता उत्कर्षमा पुग्दा दुई हजार २० जनामा संक्रमण पुष्टि भइसकेको थियो। लक्षणसहितका संक्रमित पनि पहिलोपटक वीरगञ्जमै भेटिए। यसबीचमा पर्साका ५१ जनाले कोरोनाका कारण ज्यान गुमाए।
पर्सामा कोरोना नियन्त्रण हुनुमा राजनीतिक दल, सरकारी संयन्त्र र नागरिक समाजको प्रभावकारी समन्वय र सहकार्य मुख्य कारण भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको बुझाइ छ। ११ चैतदेखि जारी लकडाउन साउन पहिलो सातामा हटाइएसँगै पर्सामा कोरोनाको लक्षणसहितका बिरामी ह्वात्तै बढे। भारतीय सिमानाबाट अनधिकृत प्रवेश गरेका कामदारले लक्षणसहितको संक्रमण भित्र्याएको ठहर प्रशासनको छ।
गम्भीर लक्षणसहितका बिरामीको धमाधम ज्यान मात्र गएन, कोरोनाको आशंकामा अस्पातालले भर्ना लिन नमानेपछि उपचार नपाएरै मृत्यु हुनेको संख्या पनि बढ्न थाल्यो। संक्रमण र क्षतिको ग्राफ उकालो लागेपछि स्थानीय प्रशासनले १० साउनदेखि निषेधाज्ञा लगायो। तर पनि, संक्रमण नियन्त्रणमा आउन सकेन।
समन्वयको खोजी
त्यसअघि वीरगञ्ज महानगरले उपचार र राहतमा सक्रिय भूमिका वहन गरे पनि जिल्लामा संघीय सरकारको प्रतिनिधित्व गर्ने प्रशासन, प्रदेश र स्थानीय सरकारबीच समन्वयको चरम अभाव थियो। लकडाउनको समयमा उपचारका पूर्वाधारको पर्याप्त व्यवस्थापन हुन सकेको थिएन।
लक्षणविनाको संक्रमण सामना गरे पनि लक्षणसहितका संक्रमित बढ्न थालेपछि अवस्था नियन्त्रणबाहिर गयो। यसैबीचमा वीरगञ्ज महानगर प्रमुख विजयकुमार सरावगी स्वयं संक्रमित भएर उपचारका लागि काठमाडौंमा बसे।
संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय अभावको मार पर्साका बासिन्दाले खेप्नु परिरहेको थियो। वीरगञ्जको गण्डक र वीरगञ्ज हेल्थ केयरका एक सय ९० बेडले संक्रमितको चाप थेग्न सकेका थिएनन्। दैनिक थपिएका सयौं संक्रमित घर-घरमा बस्न बाध्य थिए। उनीहरूबाट समुदायमा संक्रमण तीव्र फैलिएको थियो।
यो यथार्थ बुझेका राजनीतिक दलका स्थानीय नेताको अगुवाइमा नागरिक सरोकार मञ्च गठन गरेर सहजीकरणको प्रयास थालियो। सरोकार समूहमा स्थानीय उद्यमी व्यवसायी, सञ्चारकर्मी र अभियन्ताहरूको सक्रिय सहभागिता थियो।
यसअघि वीरगञ्जमा ‘एक घर एक पीसीआर परीक्षण’का लागि महानगरको समन्वयमा पीसीआर उपकरण ल्याइए पनि संघीय सरकारले अनुमति नदिँदा उपयोग हुन पाएको थिएन। परीक्षणको दायरा बढाउँदा संक्रमित बढ्ने र व्यवस्थापन असहज हुने आशंकामा संघीय सरकारले अवरोध गरिरहेको थियो।
महामारी नियन्त्रणमा पर्साका तत्कालीन प्रजिअ विष्णु कार्कीको भूमिका समन्वयकारी हुन नसकेको बुझाइ नागरिक सरोकार मञ्चको पनि थियो। संयन्त्रको दबाबमा प्रजिअ कार्कीको सरुवा मात्र भएन, वीरगञ्जमा कोरोना संक्रमण परीक्षण र उपचारको जिम्मा पाएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्याय पनि काठमाडौं तानिए।
२९ साउनमा पर्सा आएका प्रमुख जिल्ला अधिकारी तामाङले नागरिक सरोकार मञ्च र सरोकारका पक्षसित तत्कालै छलफल थाले। प्रशासनले सरोकारका पक्षसितको समन्वयमा बनाएको रणनीति नै पर्सामा संक्रमण नियन्त्रणको सूत्राधार सावित भएको अनुभव मञ्चका सदस्य अशोक टेमानीको छ।
‘प्रशासन र सरोकार मञ्चको प्रयासमा प्रदेश सरकार, वीरगञ्ज महानगर र नारायणी अस्पतालबीच प्रभावकारी समन्वय स्थापित भयो। यही समन्वयले अहिले पर्सालाई संक्रमणबाट तुलनात्मक सुरक्षित बनाएको छ,’ नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्यसमेत रहेका टेमानी भन्छन्।
संक्रमणको उत्कर्षमा रहेको पर्सामा कन्ट्याक्ट टट्रेसिङ, आवागमन नियन्त्रण र उपचारका पूर्वाधारलाई मुख्य रणनीति बनाइएको प्रजिअ तामाङ बताउँछन्। ‘व्यापक परीक्षण, उपचारका पूर्वाधार व्यवस्थापन र आवागमनमा रोक लगाएर संक्रमणको चेन तोड्न सफल भयौं,’ तामाङ भन्छन्।
सिटी भ्यालु २४ भन्दा बढी भएका संक्रमितबाट संक्रमण नफैलिने भएकाले त्यसभन्दा कम सीटी भ्यालु र गम्भीर संक्रमितलाई अस्पतालमा राखेर उपचार गरियो। अन्यलाई सामुदायिक र होम आइसोलेसनमा उपचारको व्यवस्था मिलाइयो।
वीरगञ्जमा सरोकारका पक्षको सामूहिक प्रयासले कोरोना नियन्त्रणमा आएको महानगरका प्रमुख सरावगी बताउँछन्। ‘शुरूमा समन्वय हुन नसक्दा असहज भए पनि पछिल्लो समयमा सहकार्यको बलमा महामारी नियन्त्रणमा आयो,’ उनी भन्छन्। कोरोना महामारीका बेला पनि केही मानिसले राजनीतिकरण बढी गरेको बुझाइ सरावगीको छ।
यसरी भयो नियन्त्रण
संक्रमण र मृत्यु बढ्न थालेपछि प्रशासनले १० साउनदेखि निषेधाज्ञा लगाएको थियो। भदौ पहिलो साता नेपाली सेनालाई नै उतारेर निषेधाज्ञालाई कडा बनाइयो। यसबीचमा कन्ट्याक्ट ट्रेसिङ र परीक्षण मात्र बढाइएन, नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट बनेर आएका डा. सञ्जयकुमार ठाकुरले कोरोना परीक्षण रिपोर्टमा सीटी भ्यालुसमेत दिने व्यवस्था मिलाए। यो नेपालमै पहिलोपटक थियो।
सीटी भ्यालु २४ भन्दा बढी भएका संक्रमितबाट संक्रमण नफैलिने भएकाले त्यसभन्दा कम सीटी भ्यालु र गम्भीर संक्रमितलाई अस्पतालमा राखेर उपचार गरियो। अन्यलाई सामुदायिक र होम आइसोलेसनमा उपचारको व्यवस्था मिलाइएको सरोकार मञ्चका सदस्य महेश दास स्मरण गर्छन्। यो उपायले अस्पतालमा बिरामीको चाप मात्र कम भएन, व्यवस्थापन खर्च पनि घट्यो।
भारतसित खुला सिमाना जोडिएको पर्सामा भारतबाट छिर्नेहरूका कारण संक्रमण फैलिएको ठहर गरेको प्रशासनले सीमामा मापदण्डविपरीतको आवागमनमा पनि कडाइ गरेको प्रजिअ तामाङ बताउँछन्। नारायणी अस्पतालमा शंकास्पद बिरामीलाई भर्ना लिन २० बेड छुट्याइएपछि कोरोनासित लक्षण मिल्ने बिरामी उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य भयो।
पीसीआर परीक्षणको रिपोर्ट आउन चार दिनसम्म लाग्नेमा त्यसयता एकै दिनमा, त्यो पनि मोबाइलमा जानकारी दिने व्यवस्था मिलाएपछि संक्रमण फैलिने क्रम कम भएको सञ्चारकर्मीसमेत रहेका दासको बुझाइ छ।
अबको चिन्ता
संक्रमण उत्कर्षमा रहेका बेला प्रभावकारी समन्वयमा कोरोना नियन्त्रणमा आएको पर्सामा पछिल्लो समयमा भने संक्रमण पुनः फैलिने हो कि भन्ने चिन्ता थपिएको दास बताउँछन्।
अहिले छठ पर्वका बेला मानिसको आवागमन र भिडभाड बढ्ने भएकाले संक्रमण बढ्ने सम्भवनाप्रति पूर्वतयारी भने कमजोर देखिएको छ। ‘अहिले दुईवटा कोभिड अस्पताल बन्द भइसके। संक्रमण बढेको अवस्थामा नेसनल मेडिकल कजेलको अस्थायी अस्पतालको ७० बेड मात्र अपर्याप्त हुन्छ। सरोकारका निकाय यसमा आवश्यकजति गम्भीर देखिएका छैनन्,’ दास भन्छन्।
प्रशासनले ‘नो मास्क नो मुभ’को नियम बनाए पनि अहिले यो नियमको पालना भएको छैन। बजार क्षेत्रमा अधिकांश मानिस मास्कविनै हिँडडुल गरेको देखिन्छ। संक्रमण नियन्त्रणका लागि सर्वसाधारणले न्यूनतम सतर्कता नअपनाएको महानगर प्रमुख सरावगी बताउँछन्।
‘भौतिक दूरी, मास्कको प्रयोग र सतर्कता नै यो महामारीबाट जोगिने उपाय हो। यसमा नागरिक स्वयं सचेत र सतर्क हुन जरुरी छ,’ उनी भन्छन्।