काठमाडौं- सत्तारुढ दल नेकपाभित्रको विवाद उत्कर्षमा पुग्दै गर्दा आज एक बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक दुई बजेलाई सारिएको छ । यहीबीचमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न प्रधानमन्त्री केपी ओली शीतलनिवास पुगेका छन् ।
आजै एक बजेका लागि बोलाइएको नेकपा सचिवालय बैठक भने निर्धारित समयमै बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ट्विट गर्दै श्रेष्ठले लेखेका छन्, ‘हाम्रो पार्टीको केन्द्रीय सचिवालयको बैठक पूर्वनिर्धारित कार्यक्रमअनुसार आज अपराह्न एक बजे बालुवाटारमा बस्दैछ ।’
प्रधानमन्त्री ओलीले पार्टी सचिवालयको समय पारेर मन्त्रिपरिषद् बैठक बोलाएका थिए । अब पहिले सचिवालय र त्यसपछि मात्र मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
सुरक्षा स्रोतहरूले राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शीतलनिवास पुगेको पुष्टि गरेका छन् ।