करिब पाँच हजार वर्ष अघिसम्म एलोपेथिक चिकित्सा पद्दति विकास भएकै थिएन। त्यतिन्जेल आयुर्वेदिक उपचार पद्दति नै प्रयोगमा थियो। पूर्वीय समाज विज्ञानका प्रणेता ऋषिमुनि र वैद्यहरूले यसको आविष्कार गरेका हुन्। हाल दक्षिण एसिया मानिने भारतवर्षमा अकुप्रेसरबाट बिरामी जाँचिन्थ्यो। त्यसमार्फत रोग पत्ता लगाइन्थ्यो र आयुर्वेदिक पद्दतिबाट उपचार गरिन्थ्यो।
आयुर्वेदले औषधिभन्दा खानपानमा विशेष प्राथमिकता दिन्छ। जडीबुटी, फलफूल, कन्दमुलबाट औषधि बनाएर बिरामीलाई दिइन्छ। दैनिक घरायसी खानामै औषधिजन्य वस्तुको प्रयोग पूर्वीय सभ्यताको मुख्य पाटो हो। त्यसैले हो, भारतवर्षका मानिसमा रोग प्रतिरोधात्मक क्षमता बढी भएको पनि।
यी हुन् आयुर्वेदिक खाना
(१) जामुनको फल मधुमेहका बिरामीलाई रगतमा चिनीको मात्रा सन्तुलन गर्न मद्दत पुर्याउँछ।
(२) तितेपाती दमका बिरामीलाई जीवनदायिनी औषधि हो।
(३) जंगलमा पाइने अधिकांश खानयोग्य कन्दमुल, फलफूल र सागपातलाई आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिन्छ।
(४) भान्सामा सहजै उपलब्ध मेथी, भ्याकुर, घिउकुमारी, बेसार, अदुवा, लसुनजस्ता खाद्यवस्तु पनि आयुर्वेदिक औषधिभित्रै पर्छन्।
सबै रोगमा उपयोगी
स्विट्जरल्यान्डमा कालो अंगुर र हरियो स्याउबाट उत्पादिन औषधि क्यान्सरका बिरामीलाई उपयोगी पाइएको थियो। त्यस औषधिले क्यान्सरबाट क्षति पुगेका शरीरका अंगलाई पुनःस्थापित गरेको थियो। यस्तै, उच्च रक्तचाप, मधुमेह, कलेजो, मुटु, पेटसम्बन्धी रोग नियन्त्रणमा आयुर्वेदिक औषधि उपयोगी देखिएका छन्। पेटमा पलाएका सिस्टहरू निमिट्यान्न पार्न पनि आयुर्वेदिक औषधि लाभदायक पाइएको छ।
एलोप्याथी औषधिबाट साइड इफेक्टको जोखिम बढी हुन्छ। आयुर्वेदिक औषधिमा यस्तो जोखिम शून्य हुन्छ। सानै उमेरदेखि आयुर्वेदमा आधारित उपचार पद्दति अपनाउने हो भने भविष्यमा ठूलो रोग लाग्ने सम्भावना कम हुन्छ।
जस्तो- शरीरमा क्याल्सियमको मात्रा कम भएमा एक सयभन्दा बढी रोग लाग्छन्। त्यसको उपचारका लागि ज्वानो, बेसार उपयोगी हुन्छन्। ग्यास्ट्रिक, युरिक एसिड, बाथ र कलेजोसम्बन्धी रोग आयुर्वेदबाट छिटो निको हुन्छन्।