काठमाडौं- ‘मैजु या पिलाके गुली बाला !’ नेवारी समुदायमा चर्चित गीतको अंश हो यो। यसको नेपाली अर्थ हुन्छ- यी मैयाँका पिँडुला कति राम्रा! यो गीतसँग ‘हाकुपटासी’ को प्रसंग जोडिएको छ। ‘हाकु’ को नेपाली अर्थ कालो हो भने ‘पटासी’ भनेको फरिया वा सारी।
नेवारी समाजमा छोटो गरी हाकुपटासी लगाउने चलन पुरानो हो। युवतीहरूले पिँडुला देखिने गरी हाकुपटासी लगाएको देखिन्छ। कालो फरियामा देखिने त्यही आकर्षक पिँडुलाको बयान गर्दै माथिको गीत रचना गरिएको हुन सक्छ। धारामा पानी भर्न जाँदा भुस र पिठोले धोएका पिँडुला सफा देखिन्थे। पिँडुलाको सरसफाइ हेरेर पनि कन्याको विवाह गर्नेहरू पनि हुन्थे। हाकुपटासी नेवार समुदायको पुरानो र विशेष पहिरन हो। यो कैँची आकारमा लगाइन्छ।
खेतमा काम गर्दा पानीले भिज्ने भएकाले युवतीहरूले छोटो गरी हाकुपटासी लगाउने गरेको वरिष्ठ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः बताउँछन्। उनका अनुसार अन्य पहिरनको तुलनामा हाकुपटासी न्यानो हुने भएकाले किसान युवतीको रोजाइमा परेको हो।
नेवार समुदायमा आफ्नै घरको तानमा बुनेका हाकुपटासी लगाउने चलन पुरानो हो। हाकुपटासी जाडोमा न्यानो र गर्मीमा पसिना सोस्ने विशेष फाइबर कपडाले बनाइन्छ।
पूर्व मिस नेवाः सुनिता डंगोल सानै उमेरदेखि हाकु पटासी लगाउँथिन्। उनी अहिले पनि विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुँदा नेवारी पहिरन नै पहिरिन्छिन्। हाकुपटासी सधैं उनको प्राथमिकतामा पर्छ। भन्छिन्, ‘कहिलेकाहीं हाकुपटासीको डिजाइनलाई परिस्कृत गरेर लगाउँछु।’ अहिले विभिन्न सांस्कृतिक अवसरमा अन्य समुदयका युवतीले पनि हाकुपटासी लगाउन थालेका छन्।
भक्तपुर देकोचाकी नानीमैया कुम्बाखाले सात वर्षको उमेरदेखि हाकुपटासी लगाउँदै आएकी हुन्। हाकुपटासीको तानमा काम गर्दै आएकी उनी सानैदेखि यस्तो पहिरन लगाउन पोख्त छिन्। आफ्नो विवाह हाकुपटासीमै भएको याद छ उनलाई।
भक्तपुरकै २२ वर्षीया मञ्जु दुवालले पनि सानैदेखि हाकुपटासी लगाउँदै आएकी छन्। परिवारका सबै सदस्यले हाकुपटासी लगाउँदा ‘राम्री’ भनेपछि आफू यो पहिरनमा आकर्षित भएको उनले बताउँछिन्।
ललितपुर लुभुकी सानु महर्जन पूजा र चाडपर्वजस्ता विशेष अवसरमा मात्र हाकुपटासी लगाउँछिन्। भन्छिन्, ‘विगतमा धेरैले लगाउँथे। त्यतिबेला परिस्थिति नै बेग्लै थियो। तर, अहिले खासै लगाउन मन लाग्दैन।’
भक्तपुरकी रिजु श्रेष्ठलाई हाकुपटासीका नयाँ-नयाँ डिजाइन मात्र लगाउन मन पर्छ। भन्छिन्, ‘मलाई हजुरआमाले लगाए जसरी त लगाउन मन पर्दैन, तर नयाँ-नयाँ डिजाइन मन पर्छ।’ आफ्नो संस्कृति चिनाउने र आधुनिक पनि देखिने भएकाले नयाँ डिजाइन मनपर्ने उनी बताउँछिन्। ७० वर्षीया लक्ष्मी किलम्बु जाडोयाममा हाकुपटासी नै लगाउँछिन्। जाडोमा विशेष न्यानो हुने भएकाले हाकुपटासी छोड्नै सक्दिनन् उनी।
पुराना तानमा बुनेका हाकुपटासी निकै बाक्लो र वजनदार हुन्थे। तर अहिले मेसिनमा बुनिने हाकुपटासी पातला हुन्छन्। आधुनिक डिजाइनमा बुनेका पातलो हाकुपटासी अहिले धेरैको रोजाइमा छन्।
विदेशमा झन् आकर्षण
उपमा फुयाँल अमेरिका बस्छिन्। त्यहाँ आयोजना हुने विशेष सांस्कृतिक अवसरमा उनी हाकुपटासी लगाउन मन पराउँछिन्। भन्छिन्, ‘यहाँ त हाकुपटासी नेवारको मात्र नभई सबै नेपालीको पहिचान भएको छ।’ अचेल विदेश जान लागेका अधिकांश युवती हाकुपटासी अर्डर गर्न आउने गरेको भक्तपुर गोलमढीस्थित कारखानाकी मीना तचामो बताउँछिन्।
कुनै समय खेतमा रोपाइँ गर्दा र घर बस्दा लगाइने हाकुपटासी अचेल सुन्दरीहरूले र्याम्पमा प्रस्तुत हुँदा पनि लगाउने गरेका छन्। शहरी क्षेत्रमा आयोजना हुने सौन्दर्य प्रतियोगिता र फेसन सोमा हाकुपटासीलाई पनि प्राथमिकता दिएको पाइन्छ।