शनिबारको बिदामा सखारैदेखि काठमाडौं न्युरोडस्थित संकटा मन्दिरमा पूजा गर्नेहरूको लामो लाइन लाग्छ। वरिपरि सवारीसाधनको चाप हुन्छ। पश्चिम दिशामा राजकीर्ति विहार, क्वाः पा द्यः मन्दिर र मूल चैत्य (मुगः द्यः) छन्। चारै कुनामा नौ र १० तले सुरिला अग्ला भवनहरू देखिन्छन्। दिउँसो पनि चहलपहल उस्तै रहन्छ। धेरैले संकटा मन्दिरको दृश्य बुझ्ने यस चारकुने परिसरको खास नाम तेः बहाल हो।
यस्तै, असन इन्द्रचोकको दायाँबाट सानो गल्ली छिर्दै इटुम बहाल पुगिन्छ। इटुम बहालको मध्यभागमा चैत्य देख्न सकिन्छ। र, पश्चिममा छ, केशरचन्द्र परावर्त महाविहार। यो नेपालकै सबैभन्दा लामो बहाल हो। यस बहालमा स-साना चैत्यहरू पनि अन्य बहालमा भन्दा बढी छन्। तेः बहालजस्तै इटुम बहालमा पनि अग्ला र सुरिला नौ र १० तले भवन छन्। स्थानीय बासिन्दाका अनुसार पहिले एक-दुई तले र दुईपाखे छत हुने गर्थे। तर, ती अहिले अग्ला सुरिला भवनमा परिणत भएका छन्।
यी बहाल काठमाडौंका बज्राचार्य, शाक्य, महर्जनलगायत नेवार समुदायका बौद्धमार्गीहरूको चूडाकर्म र कर्मकाण्ड गर्ने ठाउँ हुन्। यटखा बहालआसपासमा बज्राचार्य र महर्जनहरूको बसोवास बढी छ भने इटुम बहालमा शाक्यहरू छन्। नेपाल भाषामा बहाललाई ‘बहाः’ भनिन्छ, जसको शाब्दिक अर्थ बौद्ध धर्मावलम्बीको कर्मकाण्ड स्थल हुन्छ।
संस्कृतिविद् गोविन्द टण्डनका अनुसार पहिले यी बहाल बौद्ध ज्ञान आर्जन गर्ने थलो थिए। त्यसैले हरेक बहालमा अनिवार्य विहार वा महाविहार राखिन्थ्यो। बौद्ध शिक्षाको परिपाटी काठमाडौंका अधिकांश बहालमा हराइसकेको छ। पाटन र भक्तपुरका बहालमा भने यसको निरन्तरता पाइन्छ। बहालका विहारमा प्रयोग गरिएको वास्तुशैलीको महत्व अलग्गै छ। टुँडालका काष्ठकृति, काठका आँखीझ्याल, कलात्मक मूर्ति, गजुर आदिमा प्रयोग भएको वास्तुशैलीले प्राचीन नेपालको कलाकारिता झल्काउँछ।
बहाल भन्नाले चतुर्भुज आकारको स्थल हो। यसको मूल द्वारमा गणेश र महांकालका मूर्ति हुन्छन्। बहालको मध्यभागमा चैत्य र चैत्यको आमनेसामने शाक्यमुनि बुद्ध, लोकेश्वर, पदम पाणी वा पञ्चबुद्धका विहार र महाविहार हुन्छन्। बहालको मध्यभागमै मण्डला र वरिपरि बुद्धका स-साना मूर्ति हुने गर्छन्। बहाललाई घेरेका दुईतले भवन विगतमा शिक्षालय थिए। तर, अब ती भवन ९-१० तले व्यावसायिक र निजी आवासमा परिणत भइसकेका छन्। पाटनमा भने अझै पनि दुईतले शिक्षालय कायम छन्। संस्कृतिविद् टण्डनका अनुसार काठमाडौं उपत्यकामा करिब पाँच सय बहाल छन्।

पाटनको कोः बहाल (हिरण्यवर्ण महाविहार) परिसर अन्य बहालभन्दा फरक छ। यसको गेटमा दुई ठूला सिंह र बुद्धका प्रतिमा कुँदिएका छन्। बहालभित्र छालाको जुत्ता लगाएर जान पाइँदैन। मध्यभागमा चाँदीको चैत्य र गर्भगृहमा शाक्यमुनि बुद्धको मन्दिर छन्। विहारको पछाडिपट्टि इनार छ। विहारका हरेक कर्ममा यही इनारको पानी प्रयोग हुन्छ। संस्कृतिविद् टण्डनका अनुसार मौलिक बहालहरूमा इनारको पनि व्यवस्था हुन्थ्यो।
अर्को उदाहरण हो, उकुः बहाल। यस बहालमा पनि चैत्य र कलात्मक रुद्रवर्ण महाविहार छ। हिरण्यवर्णमा जस्तै यस महाविहारमा पनि बहालको मौलिकता झल्किन्छ। पाटनका अन्य प्रसिद्ध बहाल हुन्- ताः बहाल, सु बहाल, ज्योः बहाल, भिन्छे बहाल र गाः बहाल। पाटनमा करिब १८ वटा बहाल छन्, तीमध्ये १५ वटालाई विशेष महत्वका मानिन्छ।
हिरण्यवर्ण महाविहारलाई गोल्डेन टेम्पलको नामले पनि चिनिन्छ। यसमा आठ सय वर्ष पुरानो रीतिरिवाज अहिले पनि चलिरहेको महाविहारका गुभाजु चक्रराज बज्राचार्य बताउँछन्।
भक्तपुरमा पनि बहाल छन् तर थोरै संख्यामा। त्यहाँका इनाचो, आजुदया, मुनि र आखान बहालमा कला र संस्कृतिको जीवन्तता पाइन्छ। मनाङ र मुस्ताङमा पनि बहाल छन्। तर, त्यहाँ तिनलाई गुम्बा भनिन्छ।