सुनसरी- नेपाली हेडलाइनमा १७ मंसिरमा प्रकाशित ‘कालोपत्रे अलपत्र बन्दा बराहक्षेत्रका बासिन्दाको सास्ती’ शीर्षकमा समाचार प्रकाशित भएपछि बराहक्षेत्रका नगर प्रमुख रमेश कार्कीले चासो लिँदै मंगलबार स्थलगत अनुगमन गरेका छन्।
अनुगमन क्रममा सडक मापदण्डअनुसार करम खोला पुलदेखि उत्तर जोरखम्बासम्म अन्दाजी ३०० मिटर लम्बाइमा ४ मिटर चौडा रहेको हुँदा उक्त बाटोमा दुईवटा सवारी साधन एकै साथ आउजाउ गर्न समस्या हुने र त्यसलाई ५ मिटर चौडा बनाउन पहल गर्ने उनले बताए।
ठेकेदार पक्ष सम्पर्कमा आएको र २–३ दिन पछिदेखि सडक निर्माण शुरु हुने उनले जानकारी दिए। चाँडोभन्दा चाँडो कालोपत्रे गर्न र मापदण्डअनुसार गुणस्तरीय बनाउन ठेकदार पक्षलाई निर्देशन दिएको उनले बताए। अन्य स्थानमा मापदण्डअनुसार ५ मिटर चौडा सडक निर्माण गरिएको छ।
उक्त सडक पूर्वमेयर निलम खनालकोे पालामा ठेक्का सम्झौता भएको थियो। ठेकेदारले पुस मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता उल्लेख छ।
स्थानीय भिष्म घिमिरेका अनुसार मेयर कार्कीले बाटोको बारेमा सकरात्मक रहेको अवलोकनका क्रममा बताएका छन्। ठेकदार पक्षले कालोपत्रे समयमा नगरिदिँदा स्थानीय बासिन्दामा धुलोका कारण श्वास प्रश्वास, रुघामर्कीलगायत रोगले सताउँदै आएको छ। खासगरी, वृद्धवृद्धा, सुत्केरी, बालबालिका बढी प्रभावित भएका छन् भने धुलोले गर्दा दीर्घरोग लागेर अकालमै मृत्युवरण गर्नुपर्ने जोखिममा स्थानीय बासिन्दा छन्।
स्थानीय बासिन्दाहरूले १८ मंसिरमा नगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए। उक्त बाटोले बराहक्षेत्र नगरपालिका–२ का जागृती चोक, सखुवा गाछी, रेल्वेलाइन, १३ आरडी, जब्दी तथा वडा नम्बर ७ को सोमबारे हुँदै चक्रघट्टी र नगरपालिका कार्यालयसँग जोड्छ।
बराहक्षेत्र २ का वडा सदस्य झप्पडबहादुर कटुवाल, चुनु श्रेष्ठ, स्थानीय प्रभावित बासिन्दाको तर्फबाट भिष्मराज घिमिरे, तुलसी घिमिरे, युवराज भट्टराई, भोजबहादुर कार्की, केदार बस्नेत, गोविन्द नेपाल र विनोद गुरागाईंलगायत प्रतिनिधि मण्डलले १९ मंसिरमा नगर प्रमुख रमेश कार्कीसँग भेट गरेको थियो।