नयाँदिल्ली- भारत राजस्थानमा ७५ रुपैयाँका लागि एक महिलाको गोली हानी हत्या गरिएको छ।
राजस्थानको करौली जिल्ला मालपुर थाना इलाकामा महिलाको हत्या गरिएको हो। उनलाई बचाउन आएका अन्य दुईजना घाइते छन्।
प्रहरीले हत्यामा संलग्न सातजनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार स्थानीय देवरी गाउँकी मृतकको खेत जोत्न ट्र्याक्टर भाडामा ल्याइएको थियो। पीडित पक्षले आफ्नो खेत सवा बिघा मात्र भएको बतायो। आरोपित पक्षले डेढ बिघा खेत जोतेको बताउँदै बढी भाडा माग्यो।
सोही क्रममा विवाद हुँदा थप ७५ रुपैयाँ दिन पीडित पक्ष सहमत भएन। र, पीडक पक्षले ती महिलालाई गोली हानी हत्या गरेको हो।
मृतक र अभियुक्त एकै गाउँका हुन्। महिलाको हत्यापछि गाउँ तनावपूर्ण बनेको छ। भारतका गाउँहरूमा अहिले गहुँ छर्न खेत जोत्ने काम भइरहेको छ। ट्र्याक्टर व्यवसायीले एक बिघा जोतेको तीन सयदेखि साढे तीन सय रुपैयाँ लिने गरेका छन्।