काठमाडौं- कतारमा जारी विश्वकप २०२२ विभिन्न कारण चर्चामा छ। यसपटक खेलभन्दा पनि त्यहाँ जडान गरिएको नयाँ प्रविधिले धेरैको ध्यान खिचेको छ।
कतार विश्वकपमा धेरै प्रविधिको प्रयोग गरिएको छ, जसमा सेमी-अटोमेटेड अफसाइड प्रविधि, बलमा प्रयोग भएको सेन्सर, अपग्रेडेड भीएआर प्रविधि छन्। त्यसमध्ये धेरै विवादित बनेको प्रविधि हो, अपग्रेडेड भीएआर प्रविधि अथवा भिडियो असिस्टेन्ट रेफ्री।
भीएआरले कसरी काम गर्छ?
भीएआर थप एक रेफ्रीजस्तै हो, जसले खेल हेरेर अफिसियलहरूलाई निर्णयमा सल्लाह दिन्छ। केही रेफ्री भिडियो असिस्टेन्ट रेफ्रीको रूपमा कम्प्युटर स्क्रिन अगाडि हुन्छन्।
उनीहरूको सहयोगीसहितको टिममा खेल भइरहेको मैदानबाट भिडियो स्ट्रिमिङ प्राप्त हुन्छ, जसमा स्लो मोसन क्यामेराको दृश्यसहित अन्य सबै क्यामेरामा कैद भएका दृश्य हुन्छन्।
भीएआरले सबै खेल पूरै हेरिरहेको हुन्छ। यदि कम्प्युटर स्क्रिन अगाडि बसेका अफिसियलहरू केही गलत देखेमा रेफ्रीलाई जानकारी दिन्छन्। रेफ्रीले नै आवश्यक ठानेमा उनी भीएआर टिमसँग जोडिन सक्छन्। अथवा रेफ्रीले आफूले निर्णय दिइसकेपछि पनि केही द्विविधा भएर भीएआरको सहयोग लिन चाहेमा लिन सक्छन्।
भीएआरको सहयोगले कसैलाई फाइदा कसैलाई घाटा
बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा बलियो मानिएको टोली स्पेनलाई हराउँदै जापान नकआउट चरण प्रवेश गर्यो। जापानले स्पेनलाई २-१ ले पराजित गर्दै विश्वकपमा रेकर्डसमेत बनायो।
पूरै खेलमा जापानको बल पोसेसन जम्मा १७.७ प्रतिशत थियो। खेल अवधिमा १७.७ प्रतिशत मात्र बल पाएको जापानले खेलमा विजयी नतिजा निकालेर स्पेनलाई स्तब्ध बनायो।
खेलको ५१औं मिनटमा जापानका आओ टनाकाले गरेको गोलमा पास दिँदा आउट बल पास दिएको देखिएको छ। यसलाई भिडियो असिस्टेन्ट रेफ्रीले गरेको निर्णयमा विवाद भएको हो। शुरुमा गोल नदिए पनि भीएआरले गोल दिएपछि यसमा विवाद भएको हो। भिडियोमा हेर्दा जापानका कओरु मिटोमाले बल क्रस गर्दा बल लाइन बाहिर देखिएको छ। अहिले भीएआरको उक्त निर्णयको सञ्जालमा कडा आलोचना भइरहेको छ।
फ्रान्सले ट्युनिसियाविरुद्ध गरेको गोलले मान्यता नपाएपछि फिफामा उजुरी
बुधबार फ्रान्स र ट्युनिसियाबीच भएको खेल पनि विवादित बन्यो। ट्युनिसियाविरुद्ध गोलले मान्यता नपाएपछि फ्रान्सेली फुटबल संघले फिफामा उजुरी दिएको छ।
खेलको अन्तिम समयमा एन्टोनी ग्रिजमनले गरेको गोललाई मान्यता नदिएपछि संघले फिफामा उजुरी दिएको हो। उक्त गोलले मान्यता नपाएपछि ट्युनिसियाविरुद्धको खेलमा फ्रान्स १-० ले पराजित भयो।
ग्रिजमनले इन्जुरी टाइमको अन्तिम तथा आठौं मिनटमा गोल गरेका थिए। तर, रेफ्रीले भीएआरको सहयोगपछि उक्त गोललाई अफसाइड दिए, जसले गर्दा फ्रान्स पराजित भयो।
बल क्रस गर्दा ग्रिजमन अफसाइडमा देखिएका थिए। तर, बल आइसकेपछि उनी अनसाइडमा देखिएका थिए। साविक विजेता फ्रान्सले सन् २०१४ मा जर्मनीसँग क्वार्टरफाइनलमा पराजित भएयता विश्वकपमा पहिलोपटक पराजित भएको हो।
पोल्यान्डविरुद्ध अर्जेन्टिनाले पाएको पेनाल्टी पनि विवादित
समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले पोल्यान्डविरुद्धको प्रतिस्पर्धा पेनाल्टी पाएको थियो। बल क्याच गर्न लाग्दा पोल्यान्डका किपरको हातले अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीको अनुहारमा लाग्यो।
रेफ्रीले शुरुमा पेनाल्टी दिएनन् तर भीएआरले उक्त निर्णय उल्ट्याइदियो र अर्जेन्टिनाले पेनाल्टी पायो। तर, पेनाल्टी दिने भीएआरको निर्णयप्रति धेरैले विरोध गरेका छन्।
भीएआर किन विवादित?
भीएआर प्रयोगमा आउन धेरै समय लाग्यो। किनभने, यसले फुटबल खेलको गति र रोमाञ्चकतालाई बिगार्न सक्ने धेरैको डर थियो।
आलोचकहरूका अनुसार रेफ्रीहरूले भीएआर प्रयोग गरेर फुटेज हेर्दै निर्णय गर्दा त्यसले खेलमा बाधा उत्पन्न गराउँछ। यस्तै, यसले रेफ्रीको महत्त्वपूर्ण भूमिकालाई ओझेलमा पार्ने र खेलमा निर्णयका लागि यसमा भर पर्ने अवस्था ल्याउने आलोचकहरूले बताउँदै आएका छन्।
रुसमा सम्पन्न विश्वकपमा पहिलोपटक प्रयोग गरिएको यो प्रविधिको बारेमा खेलाडी, फुटबल प्रेमी र विश्लेषकहरूको मत विभाजित हुँदै आएको छ।
विश्वकप समूह ‘बी’अन्तर्गत स्पेन र पोर्चुगलबीचको खेलमा भिडियोको सहायतामा खेलको निर्णय गरिएको थियो, जुन विश्व फुटबलको इतिहासमा पहिलो घटना थियो। उक्त निर्णय पनि विवादित भएको थियो। यसपटक कतारमा जारी विश्वकपमा भीएआरको सहायताबाट लिइएका कतिपय निर्णय विवादित बनेका छन्।
तथापि, भीएआरको आलोचना जारी रहे पनि यसले खेलमा हुने रेफ्रीको गल्तीमा सुधार ल्याएको केही विश्लेषकको ठम्याइ छ। यसको प्रयोग गर्दा खेलमा निर्णय गर्न समस्या भएको बेलामा मात्रै खेल रोकिने भए पनि खासै फरक पर्दैन। यसले रेफ्रीबाट हुन सक्ने गलत निर्णय धेरै हदसम्म हटाउने भएकाले यसको प्रयोग आवश्यक रहेको उनीहरूको भनाइ छ।