ताप्लेजुङ – हेलिकप्टर नआएपछि ताप्लेजुङका हिमाली चार गाउँको मतपेटिकाहरु आज बिहानदेखि बोकेर मतगणना स्थलतर्फ लगिँदै छ।
जिल्लाको सबैभन्दा टाढा रहेको फक्ताङलुङ गाउँपालिकाको वडा नम्बर ७ को याङ्मा र ओलाङचुङगोला गाउँपालिकाको वडा नम्बर ६ घुन्सा र ग्याब्ला गाउँका मतपेटिकाहरु आज बिहानैदेखि बोकेर मतगणनास्थलतर्फ लैजाँदै गरिएको प्रमुख जिल्ला अधिकारी महेश कुमार पोख्रेलले बताए ।
यी चार ठाउँका मत पेटिकाहरु हेलिकप्टरमार्फत् ल्याउने भनिए पनि हेलिकप्टर नआउने भएपछि बोकेर लैजान लागिएको हो।
प्रमुख जिल्ला अधिकारी पोख्रेलले दुवै ठाउँका मतपेटिका आज राति १० बजे सम्ममा भेला पारेर ट्याक्सीबाट ल्याउने बताए । याङ्मा मतदान केन्द्रमा ६१ जना मतदाता रहेकोमा १२ मत खसेको छ । याङ्माबाट आउन तीन दिन लाग्ने भए पनि आधा बाटोबाट ट्याक्सीमा लगिने भएकाले राति एक बजे सम्ममा मतपेटिका ल्याइ पुर्याइने जनाइएको छ ।
घुन्सामा १ सय ६९ मतदाता रहेकोमा ६० मत खसेको छ । ग्याब्लामा ६७ मतदाता रहेकामा २२ मत खसेको छ । जिल्लाका १ सय २३ मतदान केन्द्रहरुमा ४ वटा बाहेक १ सय १९ मतदान केन्द्रका मतपेटिका भने मुख्य निर्वाचनको कार्यालयमा ल्याइसकिएको छ ।
मतपेटिका जम्मा भएपछि भोलि बिहानदेखि मत गणना गरिने प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए ।