काठमाडौं- यही आइतबार हुन लागिरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनको तयारी नुवाकोटमा निरन्तर अघि बढेको छ ।
निर्वाचन आयोगले बनाएको तालिकाअनुसार अहिलेसम्म कुनै समस्या नभइ आवश्यक तयारी तीव्र गतिमा अघि बढिरहेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए ।
उनका अनुसार आयोगबाट प्राप्त कार्यादेशबमोजिम शुक्रबारसम्म मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारीहरू पुगिसकेका छन् भने मतदान स्थलमा गर्नुपर्ने तयारीको कामहरू सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
‘मतदान केन्द्रमा खटिएका कर्मचारीले चारकिल्ला निर्धारण गर्ने, मतदान केन्द्रको तीन सय मिटर वरपर चुनावी प्रचारका सामग्री हटाउने, मादक पदार्थ निषेधित क्षेत्र भएको सूचित गर्ने, मतदान केन्द्रका लागि छेकाबार निर्माण, लाइन बस्ने डोरी टाँग्ने, एक ढोकाबाट भित्र पसेर मतदान गर्ने र अर्को ढोकाबाट बाहिर निस्कने प्रबन्ध मिलाउनेसहितको आवश्यक काम सम्पन्न भएको छ’, मुख्य निर्वाचन अधिकृत धामीले भने– ‘भौतिक संरचनाको निर्माणसहित मतदान अधिकृतले गर्नुपर्ने निर्वाचनसँग सम्बन्धित राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिसँगको सर्वदलीय बैठकमार्फत मतदानका क्रममा अपनाइने आचरणका सम्बन्धमा आचारसंहिता तयार गर्ने, बुथमा बस्ने उम्मेदवारको प्रतिनिधिको नामावली सङ्कलन गर्ने लगायतका आवश्यक काम कारबाही सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ ।’
नुवाकोट जिल्लामा कायम रहेको दुई वटा अस्थायीसहितको १३४ मतदान स्थलमा २९० मतदान केन्द्र निर्वाचनको लागि तयार भएको छ ।