इस्लामावाद : पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले लक्की मारवातमा प्रहरी भ्यानमा भएको आक्रमणको निन्दा गर्दै आतङ्कवाद पाकिस्तानको प्रमुख समस्याका रुपमा रहेको बताएका छन।
‘हामी कुनै गल्ती नगरौं । आतंकवाद पाकिस्तानको प्रमुख समस्यामध्ये एक हो । हाम्रो सशस्त्र बल र प्रहरीले बहादुरीका साथ यो विपत्तिसँग लडेका छन् । लक्की मारवातमा प्रहरी भ्यानमा आतङ्ककारी समूहले गरेको आक्रमणको निन्दा गर्न कुनै शब्द पर्याप्त छैन । मेरो साथ र प्रार्थना शोक सन्तप्त परिवारजनप्रति छ,’ सरिफले ट्वीटरमा लेखेका छन।
पाकिस्तानको खैबर पख्तुनख्वाको लक्की मारवातमा बुधबार आक्रमणमा परी छ जना प्रहरीको मृत्यु भएको पाकिस्तानको डेली टाइम्सले जनाएको छ । पत्रिकाका अनुसार मोटरसाइकलमा आएका दुई विद्रोहीले भ्यानमा गोली चलाएका थिए ।
प्रहरीका अनुसार आक्रमणकारीले अब्बासा रोड, वान्डा शाहब खेलस्थित प्रहरी भ्यानमा आक्रमण गरेका थिए ।
पाकिस्तानका गृहमन्त्री राना सनौल्लाले पनि लक्की मारवातमा प्रहरीमाथि भएको आक्रमणको निन्दा गरेका छन। उनले मुख्य सचिव र प्रहरी महानिरिक्षकसँग खैबर पख्तुनख्वा घटनाको रिपोर्ट मागेको बताएका छन।
संघीय गृहमन्त्री सनौल्लाले लक्की मारवातमा प्रहरी भ्यानमा भएको आतङ्कवादी आक्रमणको कडा शब्दमा निन्दा गर्दै घटनाप्रति चिन्ता व्यक्त गदै प्रहरी कर्मचारीको शहादतप्रति गहिरो दुःख र खेद व्यक्त गरेकाे उनकाे कार्यालयले ट्वीटर सन्देशमा लेखेको छ।