काठमाडौँ । तिलगंगा आँखा अस्पतालले २५ कात्तिकदेखि १ मंसिरसम्म मधुमेहले आँखामा पार्ने असरसम्बन्धी सचेतना सप्ताह मनाउने भएको छ ।
‘मधुमेह सेवामा पहुँच बढाऔं, साथै ‘सुरक्षित भविष्यका लागि मधुमेहबारे जानौँ’ भन्ने नाराअनुसार तिलगंगा आँखा प्रतिष्ठानले मधुमेहको आँखामा असरसम्बन्धी सचेतना सप्ताहका रुपमा विशेष कार्यक्रमका साथ मनाउन लागेको हो ।
यसअन्तर्गत मधुमेहको आँखामा असरसम्बन्धी जनचेतना फैलाउन अस्पतालको हाताभित्र जानकारीमूलक विभिन्न सामाग्रीहरु वितरण गरिँदै छ । यसका साथै आम सञ्चारका विभिन्न माध्यमबाट सामाग्रीहरु प्रचार–प्रसार गरिँदैछ ।
यससँगै अस्पतालले २६ कार्तिकमा साइकल र्यालीको आयोजनासमेत गरेको छ । उक्त र्याली तिलगंगाबाट लैनचौर हुँदै स्वयम्भू र स्वयम्भूबाट टेकु, त्रिपुरेश्वर, नयाँ बानेश्वर हुँदै तिलगंगा आउने छ । सोही दिन स्वयम्भू सामुदायिक आँखा केन्द्रमा मधुमेह भएका व्यक्तिहरुको निःशुल्क आँखा जाँचका साथै निःशुल्क लेजर उपचार र फण्डुस फोटोको सेवा प्रदान गरिने छ ।
अन्तर्राष्ट्रिय मधुमेह संघका अनुसार संसार भर ५३७ मिलियन मानिस मधुमेह बाट ग्रसित छन् । अन्धो पना, खुट्टा काट्नुपर्ने, हृदय रोग, मृगौलाले काम नगर्ने अवस्था र असामायिक निधनको प्रमुख कारणको रुपमा मधुमेह देखिएको छ ।
विश्वभर प्रत्येक १० जनामध्ये १ जनामा मधुमेह देखिएको छ । गर्भावस्थामा रहँदा प्रत्येक ६ जनामध्ये १ जनामा मधुमेह प्रभाव देखिन्छ । मधुमेह भएका व्यक्तिलाई यसबाट हुने असरको व्यवस्थापन गर्न नियमित शिक्षाको पहुँच पुर्याउन आवश्यक छ ।
आँखामा देखिने समस्यामध्ये डायवेटिक रेटिनेपेथी दृष्टिविहीन गराउने कारणमध्ये एक प्रमुख कारण हो । मधुमेहका व्यक्तिमा अन्य व्यक्तिको तुलनामा दुई गुणा बढी हुन्छ भने अन्धोपनको समस्या २५ गुणा बढी हुन्छ ।
मधुमेह रोगको पहिचान हुनासाथ डाक्टरको सल्लाहअनुसार नियमित रुपमा आँखाको परीक्षण गराउनु पर्छ ।