काठमाडौँ । भेनेजुएलामा बाढी र पहिरोमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ । पहिरोमा परेर ५२ जना बेपत्ता भएका उद्धारकर्मीले जनाएका छन् ।
भेनेजुएलाको उत्तरी आर्गु प्रान्तमा केही दिनदेखिको अविरल वर्षापछि आइतबार बाढी आएको र पहिरो खसेको थियो । भेनेजुएलाका राष्ट्रपति निकोलास मोदुरोले आइतबार सो दुर्घटनाको घोषणा गरेका हुन् । उनले आइतबारदेखि तीन दिनसम्म देशव्यापी रुपमा शोकको घोषणा गरेका छन् ।
यहाँको उत्तरी आर्गु प्रान्तमा अविरल वर्षापछि नदी बढेका र यसपछि आएको बाढीबाट पहिरो गएको पनि राष्ट्रपति मोदुरोको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिका अनुसार राष्ट्रपति मोदुरोले विपदमा परेकालाई उद्धारका लागि खट्न आग्रह गरिएको छ । गृह मन्त्रालयले दिएको जानकारीअनुसार पहिरोबाट हराएकाको खोजीका लागि करिब एक हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
पहिरोको नजिकका बस्तीलाई सार्न थालिएको छ । त्यसका लागि उद्धारकर्मी तथा सुरक्षा निकायका अधिकारी खटिरहेका बताइएको छ ।