काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक नरोक्ने दाबी गरेका छन्।
जापान भ्रमणबाट फर्केपछि बुधबार सञ्चारकर्मीसँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रपतिले नागरिकता विधेयक नरोक्ने दाबी गरेका हुन्। ‘मैले हिजै पनि जापानमा पत्रकारहरूसित भनेको थिएँ, राष्ट्रपतिले नागरिकता विधेयक रोक्नु हुन्न,’ उनले भने, ‘ढिलो हुनुहुँदैनथ्यो।’
प्रचण्डले सदनले पारित गरेको प्रस्तावलाई राष्ट्रपतिले फिर्ता नगर्ने बताएका थिए। संसदका दुवै सदनबाट बहुमतले पारित भएको नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन) राष्ट्रपतिले प्रमाणीकरण गरेकी छैनन्।
संसद् सचिवालयले पठाएको विधेयक राष्ट्रपतिलाई १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने समयसीमा हुन्छ। १५ दिनभित्र प्रमाणीकरण नगरे एकपटक पुनर्विचारका लागि संसदमै फर्काउन सक्ने सुविधा संविधानले राष्ट्रपतिलाई दिएको छ। तर, संसद्को दुवै सदनले पारित गरेर पुनः पठाएमा रोक्ने वा पुनः फिर्ता पठाउने अधिकार राष्ट्रपतिलाई छैन।