काठमाडौं – इजरायलले प्यालेस्टिनी समूह इस्लामिक जिहादका १९ सदस्यहरूलाई अधिनस्थ वेस्ट बैंकमा छामा मारेर पक्राउ गरेको जनाएको छ।
यसअघि इजरायलले गाजा स्ट्रीपका विभिन्न स्थानमा हवाइ आक्रमणहरू गरेको थियो।
हवाइ आक्रमणमा एक जना बालक तथा पिआइजेका नेता तैरि जबारीसहित १५ जनाको मृत्यु भएको छ।
इजरायलले समूहले दिएको धम्कीपछि आक्रमण गरिएको बताएको छ।
गाजाबाट रातभर इजरायलतर्फ दर्जनौं क्षेप्यास्त्रहरू प्रहार गरिएको र तीमध्ये अधिकांशलाई रोकिएको इजरायली सेनाले जनाएको छ।
यो इजरायल र प्यालेस्टाइनबीच एक वर्षभन्दा केही बढी समयमा भड्किएको सबैभन्दा गम्भीर हिंसा हो।
सन् २०२१ को मे महिनामा भएको ११ दिने युद्धमा दुई सय प्यालेस्टिनी र एक दर्जन इजरायलीको मृत्यु भएको थियो। पछि युद्धविराम सम्झौता गरेर युद्ध रोकिएको थियो।
इजरायली सेनाले ‘ब्रेकिङ डन’ नाम दिइएको यो कारबाही एक सातासम्म चल्नसक्ने चेतावनी दिएको छ।
शनिबार इजरायली शहरहरूमा क्षेप्यास्त्र प्रहार हुनसक्ने चेतावनी दिने साइरनहरू बजेका थिए।
प्यालेस्टिनी स्वास्थ्य अधिकारहरूले गाजा स्ट्रीपको दक्षिणमा एक व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन्।
तर, अहिलेसम्म गाजा क्षेत्रको मुख्य सैन्य समूह हमासले आफ्ना ठूला क्षेप्यास्त्र प्रणालीबाट प्रहारहरू गरेको देखिँदैन।
यद्यपि हमासका विचारधारा पिआइजेसँग मिल्छ र उनीहरूले प्रायः आपसी समन्वयमा काम गर्छन्।