धरान- धरानका मेयर हर्क साम्पाङको आह्वानमा नगरवासी श्रमदानमा उर्लिएका छन्।
मेयर साम्पाङले धरानवासीले देखाएको स्वतःस्फुर्त सहभागिताप्रति धन्यवाद दिँदै नगरमा पानी नपुर्याई अफिस पनि नबस्ने बताएका छन्। मेयर साम्पाङको नेतृत्वमा सर्दु, खर्दु र निशाने खोलाको पानी जम्मा गर्न ट्यांकी निर्माणका लागि जनश्रमदान चलिरहेको छ।
मेयर साम्पाङले जसरी भए पनि धरानवासीलाई पानी खुवाएरै छाड्ने प्रतिबद्धता जनाएका छन्। ‘यतिका जनता आफैं लाग्दा मजत्तिको भाग्यमानी मेयर कोही छैनजस्तो लाग्छ,’ उनले भने, ‘म जनताकै कामका लागि अहिले पनि खोलाखाल्सी दगुरिरहेको छु, धराने जनतालाई पानी नखुवाएसम्म म अफिसमा समेत बस्दिनँ।’
शनिबार पनि सर्दु र निशाने खोला किनारमा थरिथरिका बिरुवा रोपिएको छ। कागती, काँक्रा, निबुवा, अमला, अम्बक, मखमली, सयपत्रीलगायत बिरुवा रोप्न र पानीको ट्यांकी निर्माण गर्न धरानवासीले मेयर साम्पाङलाई शनिबार पनि उत्साहजनक साथ दिए।
बिरुवा रोप्न धरानका विभिन्न संघसंस्थाका प्रतिनिधि, धरानवासी साथै बेलबारी, तरहरादेखि पनि मानिस आइपुगेका थिए। प्रत्येक शनिबार मेयर साम्पाङको आहवानमा विभिन्न ठाउँमा वृक्षारोपण भइरहेको छ।
‘हामी अहिले जति पनि बिरुवा रोपिरहेका छौं, पानीको स्रोत र मुहान नसुकोस् भनेर नै हो,’ मेयर साम्पाङले भने। वृक्षारोपण कार्यक्रममा भोजपुरका सांसद सुदन किराती, वरिष्ठ गायक दीप श्रेष्ठ, मोडेल र कलाकारहरूको उल्लेख्य उपस्थिति थियो।
धरान–१३ मा निशाने खानेपानी आयोजनाको काम अन्तिम चरणमा छ। सर्दु खोलामा इन्टेक निर्माणाधीन छ। सर्दु, खर्दु र निशाने खोलाको पानी ल्याएर निशाने खोला छेउमा करिब २ लाख लिटर अट्ने ट्यांकी निर्माण बनाउने मेयर साम्पाङको योजना छ।