काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानमा पुगेर झुटो बोलेसँगै आफ्नो बोली सच्याएका छन् । उनले जापानी पूर्वप्रधानमन्त्री सिञ्जो आबेलाई दुईपटक भेटेको बताएका थिए ।
जापान भ्रमणमा पुगेका प्रचण्डले नरिता अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आबेसँग आफ्नो असाध्यै राम्रो सम्बन्ध रहेको र नेपाल भ्रमण आउँदा २–३ पटक भेट भएको दाबी गरेका थिए ।
उनले आबेसँग फेरि भेट्ने इच्छा हुँदाहुँदै भेट्न नपाएको बताएका थिए । तर, आबे नेपाल आएकै थिएनन् । उनको गत जुलाई ८ गते चुनावी सभालाई सम्बोधन गरिरहँदा एक आक्रमणकारीले गोली हानेर हत्या गरेका थिए ।
‘म जापान आउने तय भएसँगै पूर्वप्रधानमन्त्री सिन्जो आबेसँग भेट्नका लागि समय मिलाउन खोजेको थिएँ, जापानका राजदूतसँग पनि कुरा भएको थियो, उहाँ पूर्वप्रधानमन्त्रीका रूपमा नेपाल भ्रमण गर्दा मसँग २–३ पटक कुराकानी भएको थियो,’ प्रचण्डले दाबी गरेका थिए, ‘असाध्यै राम्रो सम्बन्ध भएको थियो हाम्रो, एक अर्काप्रति राम्रो इन्टर्याक्सन भएको थियो, उहाँलाई भेटेर नेपाल र जापानको सम्बन्धलाई एउटा अर्को हाइटमा कसरी लैजाने भन्ने कुरा गर्ने इच्छा थियो ।’
प्रचण्डले नेपाल फेष्टिबलमा पुगेर विमानस्थलमा चिप्लिएको बोली सच्चाएका हुन् । नेपाल फेष्टिबलबाटै प्रचण्डको जापानको औपचारिक कार्यक्रम शुरु भएको छ । उनले फेष्टिबलमा पुगेर बोली सच्चाउँदैं भने, ‘जतिखेर म जापान आउने भनेर निर्णय भएको थियो, एक ढेड महिनाअगाडि, त्योबेला म जापानका पूर्व प्रधानमन्त्री आवेसँग विभिन्न रुपले सम्र्पक र कुराकानीमा रहने गरेको थिएँ, उहाँसँग मेरो विशेष मित्रताको सम्बन्ध हुन पुगेको थियो ।’
प्रचण्डले पहिला आवेसँग दुई–तीन पटक भेट नै भएको बताए पनि फेष्टिबलमा पुगेर सर्म्पक तथा सम्बन्ध रहेको तर प्रत्यक्ष भेट जापानमै गर्न चाहेकोमा आवेको दुःखद अवसान हुन पुगेको बताउँदै बोली सच्चाएका हुन् ।