काठमाडौँ । लुम्बिनी विकास कोष परिषद्ले सुरुज वैद्यको कम्पनीलाई लुम्बिनी क्षेत्रमा रिसोर्ट बनाउन दिएको निर्णय खारेज भएको छ । पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको निर्देशनमा भएको उक्त निर्णय मन्त्री मन्त्री जीवनराम श्रेष्ठले खारेज गरेका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा उक्त निर्णय खारेज भएको हो । क्याम्पेन ग्राउन्डको जग्गा निजी कम्पनीलाई दिने गत वैशाख १९ गतेको निर्णय खारेज भएसँगै वैद्यको कम्पनीले रिसोर्ट बनाउन नपाउने भएको छ ।
तत्कालीन मन्त्री प्रेम आलेको दबाब र अग्रसरतामा लुम्बिनी क्षेत्रमा रिसोर्ट बनाउन दिने निर्णय भएको थियो । आलेले अपारदर्शी रुपमा सरकारी जग्गा निजी कम्पनीलाई दिने निर्णय गरेका थिए ।
लुम्बिनी क्षेत्र विकास कोषले संसारा वेलनेस नामक कम्पनीलाई ‘ग्राउन्ड क्याम्पियनिङ’ को नाममा रिसोर्ट चलाउन दिने निर्णय गरेको थियो । संसारा वेलनेस नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षसमेत रहेका वैद्यको कम्पनी हो । गुरूयोजनामा धार्मिक पर्यटकको आवासका लागि होटल बनाउने उल्लेख गरिएको छ ।
यसअघि वैद्य कोषको उपाध्यक्ष हुँदा नै प्रक्रिया अघि बढाएका थिए । तर, योजनाविपरीत हुने भन्दै यसअघिका अध्यक्षले उक्त प्रस्ताव अस्वीकार गर्दै आएका थिए । तर, मन्त्री बनेर आएका आलेले अपारदर्शी ढंगले वैद्यलाई उक्त योजनाको जिम्मा दिने निर्णयसमेत गरेका थिए ।