काठमाडौं- दुई महिनादेखि काठमाडौंका सडकमा फोहोर थुप्रिएको छ। सडक मर्मतलाई कारण देखाउँदै काठमाडौं महानगरपालिका र अन्य निजी क्षेत्रले समेत फोहोरको नियमित व्यवस्थापन गरेका छैनन्।
खासगरी काठमाडौंका मुख्य सडक कलंकी, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, थापागाउँ, कोटेश्वरलगायत स्थानमा लामो समयदेखिको फोहोर थुप्रिएको छ।
महानगरले भने सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साविकबमोजिम फोहोर व्यवस्थापन हुन नसकेको बताएको छ। ४ साउनमा महानगरपालिकाले सार्वजनिक सूचनामार्फत सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक साताका लागि घर बाहिर फोहोर ननिकाल्न आग्रह गरेको थियो।
एक सातामा पनि सडक मर्मतको काम पूरा नभएपछि सबै सवारी साधन चलाउन कठिन भएकाले फोहोर व्यवस्थापनमा समस्या भएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए। उक्त सडक मर्मतको काम सम्पन्न गर्न अझै समय लाग्ने भएकाले केही दिन सबै स्थानको फोहोर व्यवस्थापन गर्न कठिन हुने उनको भनाइ छ।
बञ्चरेडाँडाका बासिन्दाले सम्झौताअनुसार काम नभएको भन्दै १ भदौदेखि फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन्। समयमै सडक मर्मत नगरेको, फोहोर बोक्ने गाडीमा लेदो रहने भाँडो व्यवस्था नगरिएको, स्थानीयवासीको स्वास्थ्य बीमा, शिक्षाको प्रत्याभूतिजस्ता विषयबारे बेवास्ता गरिएको भन्दै उनीहरूले फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन्।
महानगरले बञ्चरेडाँडावासीको माग सम्बोधनको चरणमा रहेको जनाउँदै उपत्यकाको कुहिने फोहोर व्यवस्थापनका लागि स्थान पहिचानको काम गरिरहेको दाबी गरेको छ। त्यसका लागि उपत्यकाका अन्य नगरपालिकासँगको सहकार्यमा जग्गा पहिचानको काम भइरहेको महानगरको दाबी छ।
यसअघि हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो । सबैभन्दा बढी कामपामा पाँच सय मेट्रिक टन फोहोर निस्किने गर्छ। उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत उक्त स्थानमा व्यवस्थापन गरिँदै आएको छ।