काठमाडौं- नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको भ्रमण गराएर अमेरिकाले ताइवानमा आगो झोसेको बताएका छन्।
अमेरिकी संसदकी सभामुख पेलोसीले जबर्जस्ती गरेको ताइवान भ्रमणप्रति नेपाली नेताहरूको तर्फबाट सबैभन्दा पहिलो धारणा सार्वजनिक गर्दैै बिजुक्छेले अमेरिकाले चीनको सम्प्रभुतामाथि ठाडो हस्तक्षेत्र गरेकामा विरोध जनाएका हुन्।
एकातिर एक चीन नीतिप्रति प्रतिबद्धता जनाउने र अर्कोतिर ताइवानलाई चीनबाट अलग गराउने अभिव्यक्ति दिएर अमेरिकाले दोहोरो चरित्र प्रदर्शन गरेको उनले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।
अमेरिकाको पछिल्लो कदम संयुक्त राष्ट्रसंघको २५७८ घोषणा र विभिन्न कालखण्डमा चीन–अमेरिकाबीच भएका सम्झौताहरूको मर्मविपरीत भएको उनको भनाइ छ। अमेरिकाले पछिल्लो समय युद्ध उत्तेजनात्मक गतिविधि जारी राखेको उल्लेख गर्दै बिजुक्छेले भनेका छन्, ‘अमेरिकाले युद्ध उत्तेजनात्मक गतिविधि केही समयदेखि तीव्र पारेको जगजाहेर छ। चीन घेर्ने नीति अन्तर्गत हिन्द–प्रशान्त रणनीति, एमसीसी, क्वाडलगायत नीति र संगठन निर्माण गरी क्षेत्रीय शान्ति तथा विश्व शान्ति खल्बल्याउने कार्य हो। चिनियाँ भूमिमा अस्थिरता फैलाउने, ताइवानमा क्रियाशील विखण्डनकारी संगठनलाई पोस्ने, दक्षिण चीन सागरमा उत्तेजनात्मक गतिविधि गर्ने र चीनविरुद्ध शीत युद्धको अभ्यास गर्ने कार्य गर्दै आएको सर्वविदित छ। त्यसैको सिलसिलाअन्तर्गत पेलोसीको ताइवानं भ्रमण भएको प्रष्ट छ। निश्चय पनि, यसको परिणाम बाइडेन प्रशासनले भोग्नुपर्ने छ भन्ने चिनियाँ घोषणा देशभक्तिपूर्ण छ।’