बेइजिङ- चीनले अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले चीन–अमेरिका सम्बन्धमा गम्भीर परिणाम ल्याउने चेतावनी दिएको छ।
सभामुख पेलोसी ताइपेईमा उत्रिएलगत्तै चिनियाँ विदेश मन्त्रालयले उनको भ्रमणको कडा शब्दमा आलोचना गरेको हो। त्यसबाट ‘एक चीन नीति’को गम्भीर उल्लंघन भएको र चीन–अमेरिका सम्बन्धलाई पनि धक्का दिएको मन्त्रालयको भनाइ छ। र, त्यसको गम्भीर परिणाम प्राप्त हुने चेतावनी पनि मन्त्रालयले दिएको छ।
अमेरिकी सभामुखको ताइवान भ्रमणबाट चीनको सम्प्रभुता र क्षेत्रीय अखण्डताको गम्भीर उल्लंघन भएको मन्त्रालयले बताएको छ।
‘यसबाट ताइवान स्ट्रेटमा शान्ति र स्थिरतालाई गम्भीर रूपबाट कमजोर बनाएको छ। र, पृथकतावादी शक्तिहरूलाई ताइवानको स्वतन्त्रताको लागि गलत संकेत मिलेको छ,’ मन्त्रालयले भनेको छ।
चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई ताइवान कार्ड खेल्न बन्द गर्न चेतावनी दिएको छ। र, चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न र गलत एवं खतरनाक बाटोमा अगाडि नबढ्न पनि मन्त्रालयले अमेरिकालाई दृढतासाथ आग्रह गरेको छ।