काठमाडौँ । देशभर डुबेर पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको बंगलाचुली गाउँपालिका २ स्थित स्याला खोलामा डुबेर घोराही उपमहानगर १५ रतनपुर बस्ने एक युवती रहेकी छन् । मृत्यु हुनेमा काठमाडौँ महाराजगञ्ज घर भएकी १७ वर्षीया सुनिता बुढा मगर रहेकी छन् ।
यस्तै, मोरङको विराटनगर महानगर १९ स्थित ऋषिवन पोखरीमा पौडी खेल्ने क्रममा डुबेर सोही महानगरपालिका आमबारी घर भएका ३० वर्षीय फुलसरा ऋषिदेवको सोमबार मृत्यु भएको छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ स्थित स्याली नदीमा डुबेर सोही ठाउँ बस्ने बैतडी सुर्नाया गाउँपालिका ५ घर भएकी १८ वर्षीया जानकी मडैको सोमबार मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका ७ कुबिण्डे बस्ने ५० वर्षीय बौवा चापागाईंको सोही ठाउँस्थित त्रियुगा खोलामा डुबेर सोमबार साँझ मृत्यु भएको छ ।
धनुषाको हंसपुर नगरपालिका ९ रूदौली बस्ने नरेश प्रसाद साहको छोरा ९ वर्षीय प्रशान्त कुमार साहको आफ्नै घर नजिक पानी जमेको खाल्डोमा डुबेर सोमबार मृत्यु भएको छ । उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।