काठमाडौं- तार्केश्वर नगरपालिका-२ पदमसालमा एकै परिवारका चारजनाको मृत्युसम्बन्धी अनुसन्धानका लागि प्रहरीले फरेन्सिक विज्ञसहितको टोली खटाएको छ।
गोरखा भीमसेनथापा-६ अश्राङ स्थायी घर भई तार्केश्वर–२ मा बस्दै आएका घरधनी ४१ वर्षीय दिनेश पाण्डे, उनकी ३९ वर्षीया श्रीमती सुनिता पाण्डे तथा १३ वर्षकी छोरी र आठ वर्षका छोरा सोमबार बिहान मृत फेला परेका थिए।
काठमाडौं प्रहरी परिसरका अनुसार घटनास्थल अनुसन्धानमा परिसरका एसपीसहितको टोली खटिएको छ। यस्तै, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पनि अनुसन्धान थालेको छ। उक्त कार्यालयस्थित सिन्स अफ क्राइम अफिसर्स (सोको) एकाइको टोली अनुसन्धानमा खटिएको छ।
प्रहरी वृत्त बालाजुको टोलीले अनुसन्धान डकुमेन्टेसन गरिरहेको छ। यस्तै, त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक विज्ञहरू डा. गोपाल चौधरी र डा. आयुष उपाध्यायसहितको टोली खटिई अनुसन्धानमा संलग्न रहेको प्रहरीले जनाएको छ।
घरका सबै झ्याल ढोका भित्रबाट बन्द रहेकाले बाहिरको व्यक्तिबाट उनीहरूको हत्या भएको नदेखिएको प्रहरीले जनाएको छ। सोही कारण घरधनी पाण्डेले श्रीमती र छोराछोरीको हत्या गरी आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।