काठमाडौं- ल्यान्डफिल साइट प्रवेश मार्ग मर्मत भइरहेका कारण साबिकबमोजिम फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौंका सडकमा फोहोर थुप्रिन थालेको छ।
सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साबिकबमोजिम फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौंका मुख्य चोकमा फोहोर थुप्रिन थालेको हो। अनामनगर, कलंकी, कालीमाटी, बल्खुलगायत स्थानमा फोहोर थुप्रिन थालेको छ।
४ असारमा काठमाडौं महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक साताका लागि घरबाहिर फोहोर ननिकाल्न आग्रह गरेको थियो। एक सातामा पनि सडक मर्मतको काम पूरा नभएपछि सबै सवारीसाधन चलाउन कठिन भएको महानगरको भनाइ छ। सोही कारण फोहोर व्यवस्थापनमा समस्या भएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए। सडक मर्मतको काम सम्पन्न गर्न अझै समय लाग्ने भएकाले केही दिन सबै स्थानको फोहोर व्यवस्थापन गर्न कठिन हुने उनको भनाइ छ।
बञ्चरेडाँडाका बासिन्दाले सम्झौताअनुसार काम नभएको भन्दै १ भदौदेखि फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी पनि दिएका छन्। समयमै सडक मर्मतको काम नगरेको, फोहोर बोक्ने गाडीमा फोहोरको लेदो रहने भाँडो व्यवस्था नगरिएको, स्थानीयवासीको स्वास्थ्य बीमा, शिक्षाको ग्यारेन्टीजस्ता विषयबारे बेवास्ता गरिएको बताउँदै स्थानीयवासीले फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन्।
महानगरले बञ्चरेडाँडाका बासिन्दाको माग सम्बोधनको चरणमा रहेको जनाउँदै उपत्यकाको कुहिने फोहोर व्यवस्थापन गर्न स्थान पहिचानको काम गरिरहेको जनाएको छ। त्यसका लागि उपत्यकाका अन्य नगरपालिकासँगको सहकार्यमा जग्गा पहिचानको काम भइरहेको महानगरको भनाइ छ।
यसअघि हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो। सबैभन्दा बढी काठमाडौं महानगरमा पाँच सय मेट्रिक टन फोहोर निस्किने गर्छ। उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत उक्त स्थानमा व्यवस्थापन गरिँदै आएको थियो।