काठमाडौं- नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले आफू नेपाल घुम्दै गर्दा प्रेममा परेको र सोही प्रेमलाई विवाहमा परिणत गराएको खुलासा गरेका छन्।
अमेरिकी दूतावासले आफ्नो ट्विटर ह्यान्डलमार्फत सार्वजनिक गरेको भिडियो ब्रिफिङमा लूले आफ्नो जीवनको महत्त्वपूर्ण क्षण खुलासा गरेका हुन्। सन् १९९३ मा उनी पहिलोपटक नेपाल आएका थिए। अमेरिकाको कूटनीतिक सेवामा भर्खरै प्रवेश गरेका उनको पोस्टिङ त्यतिबेला पाकिस्तानको पेशावरमा थियो। उनी घुमघामका लागि भारतको दार्जिलिङ हुँदै नेपाल प्रवेश गरेका थिए।
दूतावासले सार्वजनिक गरेको १ मिनट ४१ सेकेन्डको भिडियोमा उनले त्यस समयकी प्रेमिका तथा हालकी श्रीमती एरियल एहार्टसँगको प्रेम प्रसंग उप्काएका हुन्।
‘म सन् १९९३ मा पहिलोपटक नेपाल आएको थिएँ र आज यस क्षेत्रका लागि अमेरिकी सहायक विदेशमन्त्रीका रूपमा यहाँ फेरि आएको छु,’ लुले भनेका छन्, ‘झण्डै ३० वर्षअघि जब म यहाँ आएको थिएँ। म ती युवतीसँग प्रेममा परें, जो आज मेरी श्रीमती छिन्।’ उनकी पत्नी एरियल जनस्वास्थ्य विज्ञ हुन्। उनीहरूले २६ वर्षअघि विवाह गरेका थिए।
आफ्नो सन्तानको नाम पनि दक्षिण एसियाबाटै प्रभावित भएर आलिया र किप्लिङ राखेको भिडियोमा बताएका छन्।
त्यतिबेला चितवन राष्ट्रिय निकुञ्ज, जनकपुर र काठमाडौं आएको उनले उल्लेख गरेका छन्। लुले भनेका छन्, ‘हामीले संकोच मान्दै हाम्रा सन्तानलाई बताउनु परेको छ, गर्मीका कारण हामीले अक्सर ती यात्रा बसको छतमा बसेर गरेका थियौं। हामी उनीहरूलाई कहिल्यै त्यसो नगर्न भन्छौं।’
चितवन निकुञ्जमा जिपमा बसेर अर्ना खोज्दै घुमेको उनले बताएका छन्। जनकपुरमा आफूहरू तिहारको बेला पुगेको र महिलाहरूले पानीमा दियो बगाएको दृष्य कहिल्यै भुल्न नसकेको उल्लेख गरेका छन्। ‘त्यो दृष्य एकदमै सुन्दर थियो,’ उनले भनेका छन्।
त्यतिबेला पाटनका सम्पदाले लोभ्याएको उल्लेख गर्दै उनले भनेका छन्, ‘नेपाल सधैं मेरो मुटुको नजिकै रहने ठाउँ हो। किनकि, पहिलोपटक प्रेममा परेको यहीं हो।’